ट्रम्पमाथिको महाअभियोग प्रजातन्त्रमाथि आक्रमण
एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कानूनी समूहले ट्रम्पमाथि लागेको महाअभियोग ‘प्रजातन्त्रमाथिको खतरनाक आक्रमण’ भएको बताएको छ ।
राष्ट्रपति ट्रम्पको कानूनी समूहले जारी गरेको ६ पृष्ठ लामो वक्तव्यमा महाअभियोग पत्रमा आरोप लगाइएका कुनै पनि अपराध पुष्टि गर्ने आधार नरहेको र महाअभियोग सन् २०२० को चुनावमा दखल गर्ने ‘निर्लज्ज’ प्रयास मात्रै रहेको उल्लेख छ ।
डेमोक्रयाटले महाअभियोग पत्रलाई सिनेटमा अघि बढाउने सम्बन्धमा आफ्नो तर्फबाट संक्षिप्त विवरण पेश गरेपछि त्यसको जवाफ स्वरुप ट्रम्पको कानूनी टिमको प्रतिक्रिया आएको हो ।
सिनेटमा महाअभियोगमाथि हुने बहस आउँदो हप्तादेखि सुरु हुनेछ । बहसको सुरुवाती सम्बोधनको क्रम आउँदो हप्ता नै सुरु हुनेछ ।
अमेरिकाको इतिहासमा महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् । उनीमाथि शक्तिको दुरुपयोग र संसदको कार्यमा अवरोध गरेको आरोप छ ।
विपक्षी डेमोक्रयाटको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले गएको डिसेम्बरमा ट्रम्ममाथि औपचारिक रुपमा महाअभियोग लगाएको थियो । माथिल्लो सदनमा गएको महाअभियोगमाथि अब बहस सुरु हुँदैछ ।