अमेरिकी राष्ट्रपतिले कोरोनाको खोप लगाए

एजेन्सी – अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाएका हुन् । खोप लगाएको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो ।
खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् ।
यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए । उनीहरुले पनि खोपलाई लिएर सर्वसाधारणमा रहेको शंका दूर गर्नका लागि सार्वजनिक रुपमा खोप लगाएको बताएका छन् ।
अमेरिकामा अहिलेसम्म दुई खोपले स्वीकृति पाएका छन् । आइतबारदेखि मोदेर्नाले विकास गरेको खोप पनि लगाउन थालिएको छ ।
त्यसको एक हप्ता पहिले नै फाइजर–बायोएनटेकको खोप लगाउन थालिएको थियो । अहिलेसम्म पाँच लाख भन्दा बढि अमेरिकीले खोप लगाइसकेका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले डेलवरको नेवार्कमा खोप लगाएका हुन् ।
बाइडेनकी श्रीमती डा. जिल बाइडेनले पनि खोपको पहिलो डोज लिएकी छन् ।
उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका पति डग एमहोफले आउँदो हप्ता खोपको पहिलो डोज लिने तयारी छ ।
बाइडेनको टिमले सत्ता सम्हालेको पहिलो १०० दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने योजना बनाएको छ ।
कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ८० लाख भन्दा बढि पुगेको छ । यस्तै अहिलेसम्म तीन लाख १९ हजार अमेरिकीको कोभिड–१९ का कारण ज्यान गएको छ ।


error: यो सुविधा उपलब्ध छैन !