कोहलपुरको तीन गाउँमा खाना अभियान

कोहलपुर – माइती नेपालले कोहलपुर नगरपालिकाको वडा नं. १४ स्थित तीन गाउँमा खाना वितरण गरेको छ ।
ठारागाउँ, प्रेमपुर र तमोलीपुरका लक्षित वर्गलाई माइती नेपालले खाना खुवाएको छ । आर्थिक अवस्था कमजोर, बन्दाबन्दीका समयमा समस्या परेका लक्षित वर्गलाई माइती नेपालले खाना खुवाइरहेको छ ।
तीन गाउँलाई लक्षित गरेको खाना अभियानको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय, ढोलपूर्वाका अध्यक्ष अध्यक्ष गुरुशरण खटिक, सोही बिद्यालयका प्रधानाध्यापक सीसराम यादव र स्वयंमसेविका कुष्मा खटिकले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सो क्रममा उहाँहरुले आफुहरुको गाउँमा आएर यसरी एक छाक भएपनि तयार खाना बितरण कार्यक्रमले स्थानीयलाई राहत पुग्ने बताउनुभयो ।
स्वयंमसेविका कुष्माले काम गरेर जीवीकोपार्जन गर्नेहरुलाई अहिलेको समयमा एक छाक खानाले ठूलो सहयोग पुगेको बताउनुभयो ।
खाना अभियानलाई स्थानीय रुपमा कोहलपुरकै समाज सेवा नेपालका अध्यक्ष बिनोद थापा लगायतले सहयोग गर्नुभएको छ । जिल्लाको बिभिन्न स्थान पुग्दै ३९ दिनदेखि सञ्चालित अभियानअन्तर्गत शनिबारसम्म १० हजार ५ सय ८० जनालाई खाना बितरण गरिएको माइती नेपाल, नेपालगञ्ज संयोजक केशव कोइरालाले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !