सूचना प्रविधि विधेयकविरुद्ध ज्ञापनपत्र
नेपालगञ्ज – नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकविरुद्धमा सरकारलाई ज्ञापनपत्र बुझाएको छ । कांग्रेस बाँकेका सभापति किरण कोइरालाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको कांग्रेसले सहायक प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा भनिएको छ, ‘सूचना प्रविधि विधेयकमा नागरिकको फोन ट्यापिङसमेत गर्न सकिने, सामाजिक सञ्जालमा कसैलाई ब्यंग्य गरेमा ५ वर्षसम्म जेल र १५ लाख जरिवाना तिर्नुपर्नेजस्ता प्रावधानले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने प्रयत्न गरी निरकुंशता लात्दै स्वेच्छाचारी कदमतर्फ सरकारले पाइला बढाउन थालेको रुपमा बुझेका छौं ।’
प्रधानमन्त्रीलाई सम्बोधन गरेर पठाइएको ज्ञापनमा कांग्रेसले व्यक्तिगत गोपनियताको हक समाप्त हुने र लोकतान्त्रिक संविधानको मर्म र भावना विपरित विधेयक रहेकाले अबिलम्ब सच्याउनका साथै संविधानको मर्म र भावना अनुरुप विधेयक ल्याउन सरकारसँग जोडदार माग गरेको छ ।
ज्ञापनपत्र बुझाएपछि कांग्रेस बाँकेका सभापति किरण कोइरालाले विधेयकलाई अविलम्ब नसच्याए कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । ज्ञापनपत्र सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बुझ्नु भएको थियो ।
ज्ञापनपत्र बुझाउन पूर्व सांसदहरु बादसाह कुर्मी, अब्दल हमिद सिद्धिकी, जिल्ला सचिव तप्त पौडेल, कपिल शर्मा, निजामुद्दिन सिद्धिकी, १२ नम्बरका वडाध्यक्ष बुद्धिसागर सुवेदी, २ नम्बरका वडाध्यक्ष सुनिल हमाल, डा. सुरेश कनोडिया, सुधांशु कोइराला, बुथ सभापति अनिल श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।