घोषणापत्र लिएर घरदैलोमा
नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनमा अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ नेतृत्वको समावेशी प्यानलले शनिबार जारी भएको घोषणापत्र कार्यान्वयन गर्ने विश्वास दिलाएका छन् ।
घरदैलोमा जादा उम्मेदवारहरुले घोषणा पत्र कार्यान्वयन गर्ने विश्वास दिलाएका हुन् । आइतबार समावेशीको टोली बैजनाथ र खजुरामा घरदैलोमा छन् । उनीहरु घोषणापत्र लिएर घरदैलोमा पुगेका छन् ।
अध्यक्ष पदका उम्मेदवार चुन्नाले उद्योगी, व्यवसायीको हित र बाँकेको आर्थिक विकासको मार्गचित्र कोर्ने गरी ल्याएको घोषणापत्र कार्यान्वयनमा कुनै कन्जुस्याई नगर्ने स्पष्ट पार्नुभयो ।
‘गफ दिनका लागि होइन, कार्यान्वयनका लागि घोषणापत्र ल्याएका छौं,’ वाणिज्यतर्फका उपाध्यक्ष उम्मेदवार ज्ञानेन्द्रकुमार श्रेष्ठ र उद्योगतर्फका उपाध्यक्ष पदका उम्मेदवार आदेशकुमार अग्रवालले भन्नुभयो–‘समग्र जिल्लाको आर्थिक विकास र व्यवसायीको हितमा सहयोग पुग्ने गरी घोषणापत्र ल्याएका छौं ।’
बाँकेमा ठूला लगानी भित्र्याउन लगानी सम्मेलन गर्नेदेखि व्यवसायीलाई दुःख पर्दा तत्काल परिचालन हुने ‘हेल्प टिम’ बनाउने जस्ता विषय समेट्दै समावेशी प्यानलले प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।
समावेशीको प्रतिवद्धतापत्रमा नेपालगञ्ज पश्चिम नेपालको आर्थिक ‘हब’का रुपमा स्थापित हुँदा हुँदै पनि अपेक्षाकृत उद्योगको संख्या बढ्न नसकेको भन्दै चिन्ता प्रकट गरिएको छ । नेपाल र भारत व्यापारको ढोका खोल्ने, एकीकृत भन्सार चेकपोष्ट, रेलमार्ग बिस्तार, नौवस्ता औद्योगक क्षेत्र, बिशेष आर्थिक क्षेत्र ‘सेज’ जस्ता योजना कार्यान्वयनको चरणमा रहेका बेला आगामी दिनमा यहाँ सानादेखि ठूला लगानीका उद्योग, करकारखाना स्थापना हुने प्रशस्त सम्भावना भएको प्रतिवद्धतापत्रमा भनिएको छ ।
समावेशी प्यानलको तर्फबाट अध्यक्षमा अब्दुल वाहिद मन्सुरी, उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवालले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
सदस्यमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट उम्मेदवारी दर्ता गर्नु भएको छ ।
बस्तुगत तर्फ भिमलाल कँडेल (होटल व्यवसायी संघ बाँके अध्यक्ष), सिद्धान्तजङ्ग राणा सिद्धु (टेन्ट व्यवसायी संघ बाँके) ले मनोनयन दर्ता गर्नुभएको छ । यसैगरी एशोसिएट तर्फ दिपेन्द्र विष्ट र सुवास विक्रम जिसीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।