दिल्लीको दरगाहमा सहभागी १९ नेपाली जोखिमको सूचीमा

भारतको राजधानी दिल्लीस्थित हजरत निजामुद्दिन दरगाहमा ‘तबलीगी जमात मरकज’ मा सहभागी भएका भनिएका १९ जना नेपाली पनि कोरोनाको जोखिममा रहेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।
सहभागीमध्ये सात सय जना क्वारेन्टाइनमा राखिएका छन् । सहभागी २४ जना कोरोना (कोभिड १९) संक्रमित पोजेटिभ भेटिएका छन् । मरकज स्थलबाट ३ सय जना अस्पताल पठाइएको छ । उक्त कार्यक्रममा २ सय ८१ जना विदेशी सहभागी रहेको भारतीय मिडियाहरुमा खबर छ ।
इस्लाम धर्मको प्रचारका लागी नेपाल, चीन, श्रीलंका, बंगलादेश, इंग्ल्याण्ड, थाईल्याड, साउदीअरब, इण्डोनेसिया, अफगानिस्तान, अल्जेरीया, फिजी, सिंगापुर, कुवेत, फ्रान्स र मलेसियालगायतका विभिन्न देशहरुबाट सहभागी रहेका थिए । तीमध्ये १९ जना नेपालबाट पनि सहभागी भएको मिडिया रिपोर्टहरुले देखाइरहेका छन् । मरकजमा सहभागीमध्ये ६ जना लखनउको मस्जिदमा बसेको रिपोर्ट सार्वजनिक भएको छ ।
सहभागीमध्ये तमिलनाडुका ६४ बर्षीय एक जानको कोरोना संक्रमणबाट ज्यान गएको थाहा भएपछि हजरत निजामुद्दिन दरगाह ‘तबलीगी जमात मरकज’ भारतको कोरोना संक्रमणको इपिसेन्टरका रुपमा देखिएको रिपोर्टहर आइरहेका छन् । ती सहभागीहरु अहिले भारतका विभन्न शहरमा रहेकाले संक्रमण फैलन सक्ने सम्भावनाबारे भारतमा चुनौती थपिएको समाचारहरु आएका छन् ।
दिल्ली सरकार यो विषयमा कठोर निर्णय लिने तयारीमा रहेको स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले मिडियालाई जानकारी समेत दिनुभयो । भिजिट भिसामा दिल्ली पुगेका उनीहरुलाई भिसा उल्लंघन गरेको आरोपमा कालो सूचीमा राखिएको बुझिएको छ । तर, नेपालीलाई भिसा आबश्यक नरहने भएकाले उनीहरुका बारेमा पत्ता लगाउन असहज हुन सक्ने बताइएको छ ।
१ देखि १५ मार्चसम्म चलेको सभामा करिव ८ हजार सहभागी रहेका थिए । भारतमा पछिल्लो तथ्यांक अनुसार, एक हजार दुई सय बाउन्न संक्रमित रहेका छन् भने ३२ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ । (एजेन्सी)


error: यो सुविधा उपलब्ध छैन !