दिल्लीमा किन पराजित भयो भाजपा ?

भारतको केन्द्रशासित प्रदेश दिल्लीको विधान सभाका ७० वटा स्थानको लागि भएको निर्वाचनमा आम आदमी पार्टीले ६२ स्थान जितेपछि कसैकसैले यो परिणामलाई नरेन्द्र मोदीविरोधी अभिमतको रुपमा अथ्र्याएका छन् । तर यो हेराई त्यति युक्तीसंगत देखिन्न ।
प्रथमतः १४८४ वर्ग किमि क्षेत्रफल भएको दिल्लीले भारतको कुल क्षेत्रफल ३२,८७,२६३ बर्ग किमिको ०.०००४५ प्रतिशत भुभाग मात्रै ओगट्छ । त्यस्तै दिल्लीको १ करोड ९० लाख जनसंख्या भनेको भारतको कुल जनसंख्या १ अरब ३४ करोडको लगभग ०.१४ प्रतिशत मात्रै हो ।
एउटा शहरको राजनीतिले समग्र राष्ट्रिय राजनीतिलाई प्रभावित गर्न सक्दैन । केरल, तामिलनाडु र आन्ध्र प्रदेशजस्ता ठुला राज्यमा भाजपाको स्थिति शून्य जस्तै छ तैपनि उसको राष्ट्रिय राजनीतिक यात्रालाई प्रभावित पारेको छैन ।
दिल्लीको निर्वाचनमा भाजपाको विरोध गर्ने सबै शक्तिहरु एकातिर उभिनु, भाजपाले आफ्नो मुख्यमन्त्रीको लागि कुनै बलियो तथा योग्य व्यक्ति नउभ्याउनु र आम आदमी पार्टीले निर्वाचनको मुखैमा फ्रि पानी, फ्रि बिजुली र फ्रि शिक्षाको नारा दिनुका कारणले गर्दा भाजपाको पक्षमा जनमत आउन सकेन ।
यो निर्वाचनमा केही संयोग र कतै भाग्यले पनि काम गरेको छ । लगभग डेड लाख मतदाता भएका ८ वटा क्षेत्रमा एक सय भन्दा थोरै मतको अन्तरले, १९ ओटा क्षेत्रमा एक हजार भन्दा थोरै मतको अन्तरले र ९ ओटा क्षेत्रमा दुई हजार भन्दा थोरै मतको अन्तरले भाजपाका उम्मेदवारहरुले पराजित हुन पुगेका छन् भन्ने समाचार मिडियामा खुबै चर्चामा आए ।
सन् २०१५ को विधानसभा चुनावभन्दा भाजपाले यसपटक ६ प्रतिशत बढी मत र ५ स्थान बढी ल्याए पनि सबै विरोधीहरु एकातर्फ उभिएकोले विजय उसको भागबाट टाढै रह्यो ।
मुलतः भाजपा भारतमा तल्लो वर्ग, मध्यमबर्गिय समुदाय र परम्पराबादी समाजमा संगठन बलियो भएको ठेट गाउँले पाराको पार्टी हो । दिल्ली, मुम्बै, कलकत्ताजस्ता मिश्रित सभ्यता, आधुनिकता र विदेशी प्रभावले छोएका ठाउँमा भाजपा उसै पनि कमजोर छ । मुस्लिम र ईसाईको बाहुल्यता भएका राज्य र क्षेत्रीय भावना भएका राज्यमा भाजपाले त्यति धेरै भोट पाउँदैन । यी कारणका आधारमा दिल्ली निर्वाचनमा भाजपा पछाडी पर्नु अनौंठो होइन । दिल्लीको निर्वाचन परिणामद्वारा भारतको मूलधारको जनमत भाजपाबाट टाढा भैसक्यो भन्ने अर्थ लगाउनु तथ्यपरक हुन्न ।
दिल्लीमा आम आदमी पार्टीले अरविन्द केजरीवालको नेतृत्वमा सात वर्ष सरकार चलायो । केजरीवाल काम भन्दा चर्चामा आउन रुचाउने नेता हुन् । उनी विवाद सिर्जना हुने र भाजपासँग टक्कर लिएको जस्तो देखिने विषयहरु सधैं चर्काइरहन्थे । मोदीले मलाई काम गर्न दिएनन् भनेर उनले निरन्तर आरोप लगाइरहे । म दिल्लीमा सबै कुरा निशुल्क गर्न चाहन्छु तर मोदीले गर्न दिन्नन् भनेर उनले निरन्तर बखेडा झिकी रहे । कुनै पनि सुबिधा निशुल्कमा लिन चाहने शहरिया वर्गलाई यो कुराले अचम्मसँग तान्यो । केजरीवालले निर्वाचन भन्दा दुई महिना अगाडि महिलाहरुलाई बसमा निशुल्क यात्रा गर्ने छुट दिए जसले महिलाको सहानुभूति बटुल्न मद्दत ग¥यो । मोदी विरोधी मतहरु आफुतिर तान्न सक्नु पनि आम आदमी पार्टीको विजयको मुख्य कारण बन्यो । आक्रमक शैलीको चुनाव प्रचार गरेर केजरीवालले मोदीकै स्टाइल अनुकरण गरेर मोदीलाई नै हराए भन्ने चर्चा चलेको छ ।
बास्तबमा प्रदेश र स्थानीय चुनाबहरु स्थानीय मुद्दा मैं केन्द्रित हुन्छन् । भाजपा राष्ट्रिय मुद्दामा बढी राष्ट्रिय भयो । राष्ट्रिय निर्वाचनमा मोदीलाई प्रचण्ड बहुमत दिएका मतदाताले प्रादेशिक चुनाबमा अर्को पार्टीलाई मत दिएका थुप्रै उदाहरण भारतमा छन् ।
तर, दिल्लीमा हिन्दुवादीहरु भाजपातिर र अरु सबै खाले विचारका मान्छेहरु आप पार्टीतिर ध्रुविकृत भएको हुँदा आउने दिनमा यो समीकरणले राष्ट्रिय आकार लियो भने भाजपालाई केही गाह्रो हुने संकेत भने यो निर्वाचनले दिएको छ तर अहिले भारतमा मोदीको विकल्प दिन सक्ने कोही व्यक्ति तयार भै हाल्ने अवस्था नरहेकोले केही राज्य र शहरहरुमा हारजीत भैरहे पनि राष्ट्रिय राजनीतिमा मोदीको पार्टी अजय र विकल्परहीत नै देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !