खजुरामा शीत भण्डारको शिलान्यास
खजुरा – खजुरामा शीत भण्डारको शिलान्यास भएको छ ।
खजुरा गाउँपालिका–५, उढरापुरमा रहेको १ बिगाह ७ कठ्ठा जमिनमा निर्माण गर्न लागिएको शीत भण्डारको ५ नम्बर प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले शिलान्यास गर्नुभयो ।
प्रदेश नं. ५ कै नमूनाको रुपमा निर्माण गर्न लागिएको १५ सय मेट्रिक टन कृषि उपज भण्डारण गर्न सकिने क्षमताको शीत भण्डार करिब ९ करोड लगानीमा तयार हुने गरि बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको छ ।
शीत भण्डारको शिलान्यास गर्दै ५ नं. प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले खजुराका किसानले तरकारी उत्पादन गर्ने देखि कृषकहरु सबैको सहभागितामा शीत भण्डार निर्माण गर्न लागिएको बताउनुभयो ।
खजुरा गाउँपालिकाको गौरवको योजना मध्ये शीत भण्डार पनि रहेको बताउदै यस योजनालाई ५ न.ं प्रदेश सरकारले गाउँपालिकाको खातामा ५ करोड रकम पठाइसकेको खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिनुभयो । उहाँले ९ करोडको योजना भएको भन्दै गाउँपालिकाले नयाँ नीति बनाई ब्यबस्थापन र सञ्चालन गर्ने बिधिमा अगाडी बढेको बताउनुभयो । बाँकी ४ करोड रकमको ५१ प्रतिशत गाउँपालिकाले लगानी गर्ने र ४९ प्रतिशत खजुरामा रहेका क्रियाशील सहकारी सञ्जालले लगानी गर्ने सहमति भएको प्रमुख पक्षपतिले जानकारी दिनुभयो ।
पहिलो चरणमा २ करोड ७८ लाख बराबरको कम्पाउण्ड पर्खाल र स्टक्चर आगामी बैशाखसम्म निर्माण गरिने खजुरा गाउँपालिका योजना प्रमुख दिलबहादुर पौडेलले जानकारी दिनुभयो ।