उपमहानगरपालिकाले जोलहनपुरुवामा राहत दिने
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले जोलहनपुरुवाका बासिन्दालाई राहत उपलब्ध गराउने भएको छ ।
एउटै टोलमा २२ जना संक्रमित देखिएपछि जोलहनपुरुवालाई सील गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकले जोलहनपुरुवाका बासिन्दालाई पछिल्लो मापदण्ड अनुसार राहत उपलब्ध गराउने निर्णय गरेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो । जोलहनपुरुवामा ८० घरपरिवार रहेको बताइएको छ ।
बैठकले अति नै समस्या रहेका परिवारलाई पनि राहत उपलब्ध गराउने निर्णय गरेको छ । कसैले मेरो घरमा चुल्हो बोलेन भनेर आउँछन् भने नेपालगञ्ज उपमहानगरपालिकाको अनुगमन टोलीले गएर घरमा हेर्ने र बास्तवमै समस्या रहेछ भने राहत दिने निर्णय गरिएको छ ।
बैठकले वडा वडामा समिति गठन गर्ने निर्णय गरेको छ । यस्तो समितिले कोरोनाविरुद्धमा काम गर्नेछ । नेपालगञ्ज उपमहानगरपालिकाले तत्कालिन महिला विकास कार्यालयको भवनलाई आफूले प्रयोग गर्ने निर्णय गरेको छ । बैठकले सामाजिक दुरी कायम गरी साना तिना विकास निर्माणको कामलाई अगाडि बढाउने निर्णय गरेको छ ।