पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्ड

पाकिस्तानको लाहौर उच्च अदालतले पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ । देश द्रोहको अभियोगमा अदालतले उनलाई मंगलबार मृत्युदण्डको सजाय सुनाएको हो ।
मुशर्रफ अहिले पाकिस्तानमा छैनन् । उनले अहिले दुबईमा उपचार गरिरहेका छन् । केही दिनअघि उनले एक भिडियो सन्देश जारी गरेर आफ्नो स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै आफ्नो अवस्थाबारे जानकारी लिन अनुसन्धान आयोगसँग आग्रह गरेका थिए ।
संविधानको अपहेलना र गम्भीर देशद्रोहको मुद्दाबारे उनले भनेका थिए, ‘यो आरोप पूर्ण रुपले निराधार हो । देशद्रोहको कुरा छोडौँ, मैले यो देशको निकै सेवा गरेको छु, युद्ध लडेको छु । १० वर्षसम्म देशको सेवा गरेँ ।’ लाहौर उच्चअदालतका तीन न्यायाधीशको बेन्चले बहुमतका आधारमा उनलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
भिडियोमा उनले संविधानको अपहेलना सम्बन्धी मुद्दामा आफ्नो सुनुवाई नभएको बताएका थिए । उनले भनेका थिए, ‘मेरा वकिल सलमान सफदरलाई समेत अदालतले सुनेको छैन । मेरो विचारमा यो ज्यादती हो र मलाई न्याय भएको छैन ।’
इस्लामावादको विशेष अदालतले सन् २०१४ मार्च ३१ मा देशद्रोहको एक मुद्दामा पाकिस्तानका पूर्व सैनिक राष्ट्रपति जनरल परवेज मुशर्रफलाई अभियुक्त बनाएको थियो । पाकिस्तानको इतिहासमा उनी पहिलो व्यक्ति हुन्, जसमाथि संविधानको अपहेलना गरेको मुद्दा लाग्यो ।
सन् २०१३ मा भएको चुनावमा जित निकालेपछि पाकिस्तान मुस्लिम लिग (नवाज)) सत्तामा आयो । सत्तामा आएपछि पूर्व सैनिक राष्ट्रपति परवेज मुशर्रफ विरुद्ध संविधानको अपहेलना सम्बन्धी मुद्दा नवाज सरिफ सरकारले दायर गरेको हो । मुशर्रफविरुद्ध गम्भीर देश द्रोहको मुद्दामा सुनुवाई गर्ने विशेष अदालतका प्रमुख चार पटक फेरिएका थिए । मुशर्रफ एकपटक मात्रै विशेष अदालत पुगेका थिए ।
सन् २०१६ मा स्वास्थ्यको कारण देखाउँदै विदेश गए । तत्कालीन सत्ताधारी पार्टी मुस्लिम लिग (नून) ले एक्जिट कन्ट्रोल लिस्टबाट उनको नाम हटाएको थियो । त्यसपछि उनलाई देश छोडेर जाने अनुमति दिइएको हो । जनरल परवेज मुशर्रफले सन् १९९९ मा सैन्य विद्रोह गरेर पाकिस्तानको सत्ता आफ्नो हातमा लिएका थिए । सन् २००८ को अगस्टमा मुशर्रफले राष्ट्रपतिबाट राजीनामा दिए । दुुई विपक्षी दलले आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने सहमति गरेपछि उनले राजीनामा दिएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !