नाकामा आगो ताप्ने व्यवस्था

 

नेपालगञ्ज – बाँकेमा चिसो बढेसँगै जमुनाहा नाकामा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।
एक्कासी तापक्रम तल झरेर चिसो बढेपछि नाकामा प्रहरीले आगो ताप्ने व्यवस्था मिलाएको हो । आगो ताप्ने व्यवस्था हुँदा मजदुरीका लागि भारत जान थालेका नेपालीले केहीबेर भएपनि शरीर तताउने मौका पाएका छन् ।
नेपालगञ्ज नाकाबाट यतिबेला मजदुरीका लागि भारत जाने पहाडी जिल्लाका बासिन्दाको लाम नै लागेको छ । हिउँदे खेतीपाती सकेर पहाडी जिल्लाका मानिसहरु मजदुरीका लागि भारततिर हानिएका छन् । इलाका प्रहरी कार्यालय, जमुनाहाका अनुसार यतिबेला दैनिक ५-६ सय बासिन्दा भारततिर कामका लागि गइरहेका छन् । परदेश जान थालेका मानिसले मंगलबार नाकामा आगोको मज्जा लिएका छन् ।
दशगजाको छेउमै आगो ताप्ने व्यवस्था मिलाइएको छ । जमुनाहामा ढलेका मसलाका रुख छन् । त्यसकै दाउरा बालिएको छ । चिसो रहदासम्म नाकामा आगो बालेर न्यानो प्रदान गर्ने जमुनाहाका इन्चार्ज माधव रिजालले बताउनुभयो ।
बाँके चिसोमा अति चिसो र गर्मीमा अति गर्मी हुने ठाउँ हो । हावापानी कार्यालयका कर्मचारी पलबहादुर विकका अनुसार, जिल्लाको तापक्रम न्यूनतम १२.२ डिग्री र अधिकतम १४.४ डिग्रीसम्म झरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !