मिसन लसुन र प्याज

नेपालगञ्ज – बाँके र बर्दियामा मिसन प्याज र लसुन कार्यक्रम सञ्चालन गर्ने तयारी भएको छ । प्याजको मूल्य आकाशिएको बेलामा सरकारले मिसन कार्यक्रम सञ्चालन गर्न थालेको हो । बाँके र बर्दिया जिल्ला प्याज र लसुनमा परनिर्भर रहेको छ ।
दिन प्रति दिन प्याजको मूल्य बढ्दै गएकाले किसानलाई प्याजप्रति आकर्षित गराउन फेरि प्याज मिसन सञ्चालन गर्न थालिएको छ । लसुन मिसन भने जिल्लामा पहिलो पटक सञ्चालन हुँदैछ ।
बाँके र बर्दियामा गरी सय हेक्टरबढीमा मिसन प्याज र लसुन सञ्चालन गर्ने तयारी गरेको कृषि ज्ञान केन्द्र, नेपालगञ्जका प्रमुख सागर ढकालले बताउनुभयो । ‘बाँके र बर्दियामा प्याज र लसुनमा परनिर्भर रहेको छ । उत्पादन बढाउन मिसन कार्यक्रम ल्याउदैछौं, कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले भन्नुभयो, उत्पादन बढी हुने ठाउँ छान्दैछौं ।’
बाँकेमा ५ सय ६० हेक्टरमा प्याज उत्पादन हुँदै आएको छ । त्यसमा ४ हजार सात सय ६० मेट्रिक टन फल्ने गर्दछ । एक सय ५५ हेक्टरमा लसुन लगाएर एक हजार ५४ मेट्रिक टन फल्ने गरेको छ । बर्दियामा प्याज ७० हेक्टर र लसुन एक सय ५५ हेक्टरमा लगाउने गरेको तथ्यांक रहेको छ ।
कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदान दिएर किसानलाई प्याज र लसुन लगाउन खोजेको छ । बाँके र बर्दियाका कुन कुन ठाउँमा प्याज र लसुन उत्पादन भइरहेको छ । र, राम्रो उत्पादन कहाँ हुन्छ भन्ने अनुसन्धान गरेर कार्यक्रम त्यहाँ पार्ने तयारी भएको छ ।
सीमावर्ती जिल्ला भएकाले यहाँ करेसाबारी बाँझो राखेर किनेर खाने गरेको पाइन्छ । पछिल्लो दिनमा कतिपय स्थानीय तहले करेसाबारीमा तरकारी, फलफूलका अभियानहरु अघि सारेका छन् । घर वरिपरिका करेसाबारीमा मात्रै लसुन लगाउदा त्यो परिवारलाई मज्जाले खान पुग्छ । एउटा घरपरिवारलाई वर्षभरी पुग्ने लसुन, खुर्सानी, धनिया, प्याज, बेसार लगाउन धेरै ठाउँ चाहिदैन । तर, पछिल्लो दिनमा माटो घुलमिल हुन छोडिएको छ । किनेरै खाने प्रवृत्ति बढेको छ ।


error: यो सुविधा उपलब्ध छैन !