प्रहरीलाई आन्दोलनकारीले दिए गुलाबको फूल
एजेन्सी – भारत सरकारले ल्याएको नागरिकता संशोधन कानून (सिएए) र नेशनल रजिस्टर अफ सिटिजन्स (एनआरसी) को विरोधमा भारतभर प्रदर्शन भइरहेको छ । प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको भन्दै आलोचना भएको छ ।
केही प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेका छन् । तर प्रहरी दमनलाई लिएर अन्तर्राष्ट्रिय स्तरमै चासो र चिन्ता व्यक्त गरिएको छ । राजधानी दिल्लीमा पछिल्ला केही दिनमा भएका प्रदर्शन हिंसात्मक बनेका थिए ।
तर प्रदर्शनकारीले दमन गर्ने प्रहरीलाई सद्भावले जवाफ दिएका छन् । दिल्लीको जन्तरमन्तरमा शुक्रबार भएको प्रदर्शनको क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेनन् ।
उनीहरुले प्रदर्शनको क्रममा आफूहरुलाई रोक्न आउने प्रहरीले गुलाफको फूल प्रदान गरेका छन् । प्रदर्शनकारीले प्रेमको प्रतिकका रुपमा रहेको गुलाफको फूल प्रयोग गरेर सकारात्मक सन्देश दिएका हुन् ।
दुई हप्ताअघि कानूनी रुप पाएको नागरिकता संशोधन सम्बन्धी नयाँ कानून अनुसार पाकिस्तान, बंगलादेश तथा अफगानिस्तानमा धार्मिक उत्पीडनका कारण बस्न नसकेर सन् २०१४ को डिसेम्बर ३१ सम्ममा भारत आएका हिन्दू, सिख, बौद्ध, जैन, पारसी र इसाई समुदायका व्यक्तिलाई भारतको नागरिकता दिइने छ ।
तर यसमा मुस्लिमहरुलाई भने समेटिएको छैन । कानूनी रुपमै धर्मका आधारमा विभेद भएको भन्दै भारतभर हाल विरोध प्रदर्शन भइरहेको छ।