नागरिकता संशोधन कानूनको विरोध चर्किदै
एजेन्सी – भाजपा सरकारले ल्याएको नागरिकता संशोधन कानुनको विरोधमा भारतमा चर्किएको आन्दोलनले उग्र रुप लिएको छ ।
भारतको राजधानी दिल्लीका साथै लखनउ, पटना, चन्डीगढ, मुम्बई, बैंगलोरलगायत भारतभर व्यापक विरोध प्रदर्शन भएको छ । प्रदर्शन आक्रामक बन्दै गएपछि सरकारले देशका कैयौं क्षेत्रमा कफ्र्यु लगाएको छ ।
भाजपा सरकार रहेका राज्यहरुमा समेत हजारौं मानिसहरु सडकमा उत्रिएका छन् । विभिन्न राज्यमा रेल्वे सेवासमेत बन्द भएको छ ।
भारतको राजधानी दिल्लीमा सरकारले धारा १४४ लागु गरेपनि हजारौं प्रदर्शनकारीहरु प्रहरी दमनको प्रवाह नगरी सडकमा उत्रिएका छन् । प्रहरीले देशभरबाट कैयौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
उत्तर प्रदेश, दिल्ली, बिहार, कर्नाटक, तलंगाना, पश्चिम बंगाल, महाराष्ट्र, तमिलनाडु लगायत पूर्वोत्तर राज्यहरु आसम, मेघालयमा समेत नागरिकता कानुनको विरोधमा प्रदर्शन भएको छ ।
उत्तर प्रदेशको लखनउमा एक बसमा आगजनी गरिएको भने हजरतगंजको मुख्य चोकदेखि पुरानो लखनउसम्म हजारौं मानिसहरु सडकमा उत्रिएका छन् ।
दिल्लीको लालकिल्ला, जन्तरमन्तर लगायतका क्षेत्रमा हजारौँ मानिसहरु जम्मा भएर सरकारले ल्याएको नागरिकता कानुनको विरोध गरिरहेका छन् । यस्तै दिल्ली–गुडगाउ“ हाइवेमा करिब १० किलोमिटर भन्दा लामो जाम भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त जाममा एयरलाइन्सका क्रु मेम्बरसमेत फसेपछि इन्डिगो एयरका १९ उडान रद्द भएको बताइएको छ ।
दिल्लीका विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ । यस्तै टेलिफोन सेवामा पनि अवरोध आएको छ । एयरटेलले दिल्लीका केही क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको बताएको छ ।
दक्षिण भारतीय राज्यहरुमा समेत आन्दोलन चर्किएको छ । बेंगलुरु, कलबुर्गी, दक्षिण कन्नड र त्यस आसपासका जिल्लामा आगामी तीन दिनसम्मका लागि धारा १४४ लागु गरिएको छ । कर्नाटकका मुख्यमन्त्रीले यस प्रदर्शनमा कांग्रेसको हात भएको आरोप लगाएका छन् । प्रहरीले हैदरावादबाट ५० जनालाई हिरासतमा लिएको छ । पश्चिम बंगालमा समेत नागरिकता कानुनको विरोध भइरहेको छ ।