नेपालगञ्जका बालबालिकाले खोप किन लगाउँदैनन् ? खोजिदै
नेपालगञ्ज – नेपालगञ्जका बालबालिकाले खोप किन लगाउँदैनन् ? यो प्रश्नको उत्तर खोज्न नेपालगञ्जमा घरदैलो सर्वेक्षण थालिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई घरघरमा पठाएर खोप लगाए/लगाएको बुझ्ने र खोप लगाएका छैनन् भने लगाउने र उनीहरुलाई यसअघि किन नलगाएको भनेर सोध्न पठाएको छ ।
नगरका २३ वटै वडामा यो अभियान शुरु हुँदैछ । केही वडामा शुरु भइसकेको छ । सरकारले निर्धारण गरेको तार्गेट पूरा हुने तर यहाँका रैथाने बालबालिका खोपमा छुटेको पाइएपछि यस्तो अभियान र सर्वेक्षण थालिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनुभयो ।
उपमहानगरपालिकाले १६ देखि ५९ महिनाका बालबालिकाले खोप लगाएको÷नलगाएको सर्वेक्षणसँगै खोप लगाउने अभियान थालेको हो । नेपालगञ्जलाई गतवर्ष नै पूर्ण खोप घोषणा गरिसकिएको छ । पूर्ण खोप घोषणा भएको नेपालगञ्जमा हालसालै दादुरा महामारी देखिएको थियो । दादुरा संक्रमित बालबालिकाले खोप नलगाएको पाइएको थियो ।
जनस्वास्थ्य निरीक्षक बस्नेतले बैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दीगोपन घोषणाका लागि कोही पनि बालबालिका खोपबाट बन्चित नहुन् भन्नका लागि घरदैलो अभियान र सर्वेक्षण थालेको बताउनुभयो ।
नेपाल सरकारले दादुरा रुबेला, वीसीजी, जेई, टाइफाइड, पीसीभी, पोलियो, टिडी, डिपिटी हेब्बी हिवलगायतका खोप दिने गर्दछ । जन्मदेखि १५ महिनाभित्र यी खोपहरु लगाइन्छ । नेपालगञ्ज उपमहानगरपालिकाले यो अवधिमा खोप लगाएको वा नलगाएको बुझ्न १६ देखि ५९ महिनाका बालबालिकाको सर्वेक्षण गर्दैछ ।
यतिबेला नगरका विभिन्न वडामा अभिमुखीकरण भइरहेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले फाराम नै देखिएर घरघरमा पठाएको छ । यो सर्वेक्षण पछि नेपालगञ्जमा कति बालबालिका छन् र कतिले खोप लगाएका छन् भन्ने यकिन हुने उनीहरुको भनाई छ । नेपालगञ्जमा खोप नै नलगाउने र लगाएका पनि धेरैले बीचैमा छोड्ने गरेको पाइएको छ ।
सोमबार वडा नं. १५ मा अभिमुखीकरण गरिएको थियो । जनस्वास्थ्य निरीक्षक तेजबहादुर वली, विनोद विक, पिप्रहवा स्वास्थ्य चौकीका इन्चार्ज जयराम पाण्डेलगायतले अभिमुखीकरणमा सहजीकरण गर्नु भएको थियो ।