दादुराबाट एक बालकको मृत्यु, आधा दर्जन वडामा फैलियो दादुरा

नेपालगञ्ज – नेपालगञ्ज दादुराका कारण एक बालकको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ का दुई वर्ष सात महिनाको बालकको दादुराको कारण मृत्यु भएको छ । एक हप्तादेखि बिरामी रहेका बालकको बुधबार मृत्यु भएको हो ।

नेपालगञ्जमा केही दिनदेखि दादुरा महामारीको रुपमा देखा परेको छ । बुधबार मात्रै पाँच वर्ष मुनिका आठ जनामा दादुरा देखिएको छ । नेपालगञ्जका आधा दर्जन वडामा दादुराको बिरामी देखा परेका छन् । ५, ७, ८, १०, १५, २२ नम्बरमा दादुराका बिरामी देखा परेका छन् । यी वडाहरुमा कम्तीमा २५ जनालाई दादुरा पुष्टि भइसकेको छ । लक्षण चिन्ह देखिएका धेरै छन् ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्दले विशेषज्ञहरुको टीम टोलटोलमा पुगेर जनचेतना फैलाउने, बिरामीलाई अस्पताल लैजाने आग्रह गर्ने, दादुरा तुरुन्तै सर्ने भएकाले छुट्टै ठाउँमा राख्न आग्रह गर्ने, अभिलेख लिने र छिट्टै खोपको अभियान चलाउने तयारी गरेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले दादुरा देखिएका वडाका १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउन तयारी गरिरहेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !