प्रधानमन्त्रीको रेसमा छैन –प्रचण्ड
नेपालगन्ज – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।
प्रेस सेन्टर, बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले २०८४ सम्म प्रधानमन्त्रीको रेसमा नभएको बताए । उनले भने, ‘सबैले आएर नेतृत्व गर्नु प¥यो भने पनि म प्रधानमन्त्रीको रेसमा छैन ।’
अध्यक्ष प्रचण्डले संविधान बनाउदादेखि नै गणतन्त्र मन नपराएकाहरुले अहिले टाउको उठाउने कोसिस गरेको बताउँदै त्यतिबेला संविधान जारी गर्दा अहिले हतारमा नगरौं भन्ने कांग्रेस र एमालेभित्रका नेताहरु पनि लागिपरेको बताए । उनले सरकारको गैरजिम्मेवारी क्रियाकलापका कारण जनतामा निराशा छाएको र बिचौलियाले टाउको उठाउने मौका पाएको टिप्पणी गरे । कुलमान घिसिङलाई हटाउने टियु र गभर्नर नियुक्तिमा देखिएका सेटिङलगायत सामाजिक न्याय र सुशासनमा सरकार चुकेकाले प्रतिगामी, प्रतिक्रियावादीले टाउको उठाएको बताए ।
एक प्रश्नमा प्रचण्डले अवस्था बदल्न कृषिलाई आधार बनाएर उच्चतम प्रविधिको प्रयोग गरी वैज्ञानिक ढंगले उत्पादन बढाउनु पर्ने बताए । उनले पूर्वराजाप्रति लक्षित गर्दै गैडा र मूर्ति चोरीमा दरबारीयाको संलग्नताको रहेको टिप्पणी गरे ।
हिजो बाँकेमा आएका प्रचण्डलगायत माओवादीका नेताहरु कोहलपुरस्थित नेता तथा कार्यकर्ताको घरमा बसेका थिए । यहीबाट माओवादीले सुरु गरेर बीचमा रोकिएको तराई मधेस अभियान थालिएको छ । त्यसक्रममा नेताहरु बर्दिया जाने तयारीमा छन् ।