उपमहानगरपालिकाले दाउरा बाँड्यो

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले सर्वसाधारणका लागि दाउरा वितरण थालेको छ ।

नेपालगञ्जमा चिसो बढेपछि बढी भीडभाड हुने चोक, अस्पताल, कार्यालय र गरीव बस्तीहरुमा दाउरा वितरण थालिएको उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले बुधबार डिभिजन वन कार्यालयबाट दुई चट्टा दाउरा ल्याएर वितरण गरेको छ । उपहानगरपालिकाले वन कार्यालयसँग ८ चट्टा दाउरा माग गरेको थियो । वन कार्यालयले तत्काल त्यति दाउरा उपलब्ध गराउन सकेको छैन । वन कार्यालयले जति उपलब्ध गराउँछ, त्यो दाउरा वितरण गर्दै जाने नीति बनाइएको छ ।

अत्याधिक चिसो बढेपछि दैनिक काम गरेर जीविकोपार्जन गर्नेलाई प्रत्यक्ष असर परेको छ । थोरै भएपनि उपमहानगरपालिकाले दाउरा दिएपछि चोकचोकमा आगो तापेको देख्न सकिन्छ । नेपालगञ्जमा मंगलबारदेखि नै चिसो बढेको छ । चिसोले गर्दा खजुरा गाउँपालिकाले तीन दिन स्कूल बन्द गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !