नरैनापुरका अग्नीपीडितलाई जस्तापाता सहयोग
काेहलपुर – कोहलपुर नगरपालिकाले बाँकेको नरैनापुर–४, जयरामपुरमा भएको आगलागी पीडितलाई टिनका जस्ता पाता सहयोग गरेको छ । मंगलबार दिउँसो भएको आगलागीमा १७ वटा घर जलेर नष्ट भएका थिए । फुसले छाएका घरहरुमा आगलागी हुँदा करीव ८५ लाख बराबरको नोक्सानी भएको थियो । अत्यन्तै विपन्न समुदायका व्यक्तिहरु बसोबास रहेको जयरामपुरमा वडा कार्यालयको आग्रहपछि रंगीन टिनका पाता सहयोग गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । ‘खाद्यान्न लत्ताकपडा सहयोग गरेर मात्रै उनीहरुले वर्षौदेखि झेल्दै आएको आगलागी समस्या समाधान नहुने देखिएपछि प्रति परिवारलाई १० वटाका दरले जस्तापाता सहयोग गरिएको छ’, उनले भने ।
कोहलपुर नगरपालिकाका विपद व्यवस्थापन समिति संयोजक पवित्रा थारुको नेतृत्वमा शाखा प्रमुख वीरबहादुर थापा, सदस्य लालबहादुर राना, कार्यपालिका सदस्य केशरीकुमारी रावत अग्नीपीडित बस्ती पुगेर शुक्रबार टिनका पाता सहयोग हस्तान्तरण गरेका थिए । त्यसक्रममा नरैनापुर गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष मनोज शर्मा र वडा नं.५ का वडा अध्यक्ष युवराज मौर्य लगायतको सहभागिता रहेको थियो । टिनका पाता पाएपछि पीडितले कोहलपुर नगरपालिकाप्रति आभार प्रकट गरेको शाखा प्रमुख थापाले बताए । नरैनापुर गाउँपालिकाको दमकल विग्रेका कारण उक्त आगलागी नियन्त्रणका लागि कोहलपुरले दमकल पठाएको थियो । गरैनापुर गाउँपालिका बर्सेनी आगलागीका घटनाको सामना गर्नु परेको छ । नरैनापुरमा विपद्को अवस्था विश्लेषण गर्दा बढी क्षति हुनेमध्ये बाढीभन्दा पछाडि आगलागी दोस्रो स्थानमा छ ।