लुम्बिनी कपले महिला खेलाडीलाई अवसर प्रदान गर्नेछ – कप्तान एन्जिला


नेपालगन्ज – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सुरुआत हुुनु खुसीको कुरा भएको बताएकी छन् ।
आफनो जीवनीमा आधारित फिल्म ‘एन्जिला’को प्रमोसन गर्न नेपालगन्ज आएकी एन्जिलाले बुधबार यहाँका महिला खेलाडीहरु भेटिन् ।
एन्जिलाले भनिन्, ‘नेपालगन्जमा महिला फुटबल हुनु खुसी कुरा हो । प्रतियोगिताले धेरै महिला खेलाडीलाई खेल्ने अवसर दिनेछ । महिलाको प्रतियोगिता नेपालमा धेरै कम हुने गरेको छ । यस्तो अवस्थामा महिला फुटबल हुनु सुखद कुरा हो । प्रतियोगिता सफलताको कामना गर्दछु ।’
खेलकुदको क्षेत्रमा धेरै जनाले निराशाजनक कुरा गर्ने गरेको बताउँदै कप्तान एन्जिलाले आफनो लक्ष्य अनुसारको काम गर्न सक्नु पर्ने बताइन् । उनले भनिन्, ‘फुटबल क्षेत्रमा पनि धेरै अभाव होला । तर मैले मेरो रुचीले फुटबल खेलेको हुँ । यसमा मैले जतिसक्यो राम्रो गर्ने प्रयास गर्ने हो । नतिजा भोली जे पनि हुन सक्छ, सकारात्मक भएर आफनो लक्ष्य अनुसार काम गर्नु पर्छ ।’
कप्तान एन्जिला लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको सद्भावना दुत हुन् । केही दिन अघि एन्जिला र राष्ट्रिय महिला फुटबल टिमको पहिलो कप्तान रमा सिंहले दशरथ रंगशालामा लुम्बिनी कपको लोगो सार्वजनिक गर्नु भएको थियो ।
लुम्बिनी कप फुटबलको आयोजनामा सद्भावना दुतको रुपमा रहेर एन्जिलाले नेपाली महिला फुटबलको विकासमा महत्वपूर्ण योगदान गरेको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।
एन्जिलाले बुधबार नेपालगन्ज रंगशालाको भ्रमण गर्दै यहाँका महिला खेलाडी र खेलकर्मीसँग पनि भेटघाट गरिन् ।
नेपालगञ्जमा आगामी बैशाख ५ गतेदेखि हुने लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल तयारीका सन्दर्भमा पत्रकार भेटघाटका अवसरमा कप्तान एन्जिलाले नेपालमा महिला फुटबललाई व्यवस्थित गर्न थुपै्र चुनौती भएपनि अहिले प्राप्त अवसरवाट खेलाडीहरुले कडा मिहिनत र संघर्षबाट फाइदा लिन सक्नु पर्ने बताइन् ।


error: यो सुविधा उपलब्ध छैन !