बाँकेमा खानेपानीका सबै योजना अधुरा/अलपत्र
नेपालगञ्ज – बाँकेको नरैनापुर गाउँपालिकामा खानेपानीका नौ वटा योजना छन् । कुनै पनि योजना सम्पन्न भएका छैनन् । यहाँ एघार वर्षदेखिका योजना अलपत्र छन् । घर अगाडि बनेको खानेपानीको ट्यांकी हेरेर बसेका छन्, नरैनापुरवासी ।
नरैनापुरमा यो वर्ष सुख्खा लाग्यो । खानेपानीका नौ वटा ट्यांकीबाट पानी निकाल्न सकेको भए स्थानीयले शुद्ध पानी पिउन त पाउँथे नै, खेतमा सिंचाई गरेर किसानलाई ठूलो राहत दिन सकिन्थ्यो । वडा–वडामा बनेका खानेपानीका ट्यांकी नरैनापुरवासीलाई आकाशको फलजस्तो भएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेले नरैनापुरका सबै योजना सम्पन्न गर्न २१ करोडबढी बजेट चाहिने बताउनुभयो । नरैनापुरमा एक करोड ४३ लाख १५ हजारको काम भइरहेको छ ।
राप्तीसोनारी गाउँपालिकामा खानेपानीका २० वटा योजना छन् । जिल्लामा सबैभन्दा धेरै योजना यही छ । चार करोड ४९ लाख ४९ हजारको काम भइरहेको नरैनापुरमा सबै योजना सम्पन्न गर्न १९ करोड आवश्यक रहेको छ ।
यी दुई गाउँपालिकाजस्तै बाँकेमा खानेपानीका ७५ वटा योजना छन् । सबै योजना अधुरा छन् । केही अलपत्र अवस्थामा छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जले गतवर्ष २४ करोड खर्च ग¥यो । यत्तिका धेरै रकम खर्च हुँदा कुनै पनि योजना सम्पन्न भएनन् । कुखुरालाई कनिका छर्किएकोजसरी योजना छर्ने काम भयो । मागको आधारमा नभई मन्त्री, सांसद र नेताको दबाबका आधारमा योजना थप्दै जादा आर्थिक अभावले योजना अलपत्र परिरहेको छ । बजेट सुनिश्चित नहुँदै माथिबाट योजना थपिदा समस्या भएको सम्बद्धले बताएका छन् ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख न्यौपानेका अनुसार, बाँकेमा ८५ प्रतिशत घरधुरीका मानिसले अहिले पनि ह्याण्डपम्प, कुवा वा इनारको पानी खाइरहेका छन् । १४.९० प्रतिशत घरधुरीका मानिसले पाइप प्रणालीबाट पानी खाइरहेका छन् । यो भनेको १४ हजार १ सय ३० घरमा पाइप प्रणालीको धारा जडान भएको छ । ८५ प्रतिशत मानिस ह्याण्डपम्पमै आश्रित रहेका छन् ।
सन् २०३० सम्ममा सबै घरमा स्वच्छ खानेपानी पु¥याउने दिगो विकास लक्ष्य छ । बाँकेमा यहि गतिले अघि बढेमा सन् २०५० सम्ममा पनि लक्ष्य पूरा नहुने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख न्यौपाने स्वीकार्नु हुन्छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जले योजना थपिदै गएपनि बजेट घट्दै जादा काम गर्न चुनौती थपिएको जनाएको छ । यो वर्ष कार्यालयलाई १६ करोड बजेट छुटिएको डिभिजन प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
एउटा योजना सम्पन्न नहुँदै अर्को योजनामा किन हात हालिहाल्नु हुन्छ ? डिभिजन प्रमुख न्यौपानेको जवाफ थियो, कतिपय हामीले योजना बनाएका हुन्छौं । केही माथिबाट त्यही ठाउँमा नसोधेर योजना थप्ने काम हुन्छ । मागको आधारमा नभई नेता र सांसदको दबाबमा योजना थप्ने काम हुँदा योजना अलपत्र पर्ने गरेका छन् । यो वर्षमा कम्ती दश वटा योजना सम्पन्न गर्छौ ।
डिभिजन प्रमुख न्यौपानेले नरैनापुरमा अनावश्यक रुपमा ट्यांकी निर्माण भएको बताउनुभयो । जिल्लाका धेरै वडामा दुई वटासम्म ट्यांकी बनेका छन् । एउटा वडामा दुई वटा ट्यांकी बनाउन आवश्यक नै छैन ।
कार्यालयका अनुसार चुनौतीहरु धेरै छन् । पहिला बनेका ट्यांकीलाई मर्मत सम्भार गर्न गाह्रो भएको छ । बाटो विस्तारले योजना लथालिंग र अलपत्र पर्ने गरेको छ । जिल्लामा धेरै जीर्ण योजनाहरु लथालिंग छन् । पानीका मुहान सुक्दै गएको छ । जनश्रमदान जुटाउन गाह्रो छ । योजना बढ्दै जादा, बजेट घटिरहेको छ ।