देशलाई अशान्त बनाउन फेरि राजाको कुरा गर्दैछन् : एमाले महासचिव


नेपालगन्ज – नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा अस्थिरता सिर्जना गर्न फेरि राजा ल्याउने कुरा गरिरहेको टिप्पणी गरेका छन् ।
एमाले बाँकेले आयोजना गरेको २०४९ सालदेखि २०७९ सालसम्म नेकपा एमालेबाट प्रत्यासी बनेका उम्मेदवारका लागि जरा अभियान अन्तर्गत सम्मान तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विदेशीको इशारामा नेपाली समाजलाई अशान्त बनाउन राजा ल्याउने कुरा गरेको बताए ।
महासचिव पोखरेलले भने, ‘अहिले फेरि बेबिकिङ र संवैधानिक राजाको कुरा गर्न थालिएको छ । शान्त राजा मानिएका वीरेन्द्रलाई संवैधानिक राजसंस्था मन परेको थिएन । ज्ञानेन्द्रले सक्रिय शासन चलाएको बिर्सेका छौ र ? फेरि राजाको कुरा गर्ने ?’ उनले राजा हुँदासम्म जहिले पनि सक्रिय रहेको बताए । पोखरेलले सुनाए, २००७ सालमा कांग्रेसको मुक्ति सेनामा मिसिएर कम्युनिष्टले राणा फाल्ने काम गरे । आफ्नो ज्यान जोगाउन भागेका राजा त्रिभुवन फर्केर आएर त्यही मोहन शमशेरलाई प्रधानमन्त्री बनाए । २०१५ सालसम्म राजाले कहिले कसलाई कहिले कसलाई प्रधानमन्त्री बनाएर खेलिरहे । २०१७ सालमा कु गरेर २०४६ सम्म सक्रिय शासन गरे । बहुदलीय प्रजातन्त्र पछि दलहरुले काम गर्न थालेका थिए । फेरि माओवादीले दश वर्ष हिंसा मच्चाएर देशलाई पछाडी पार्ने काम ग¥यो । यही बीचमा राजा ज्ञानेन्द्रले सक्रियता देखाए । इतिहास नबुझेकाहरु राजा राजा भन्दै दौडिरहेका छन् ।’
पोखरेलले राजाको पालामा देशमा धेरै विकास भएको भन्ने भाष्य गलत भएको बताउदै दलहरुले नै देशको विकास गरिरहेको बताए । उनले गर्नु पर्नेजति अझै भइनसकेको भने स्वीकार गरे । उनले स्थिर सरकार नभएकाले देशमा धेरै विकास हुन नसकेको बताउदै मिसन २०८४ मा बलियो दल बनाउन लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
एमालेले २०४९ सालदेखि २०७९ सालसम्म चुनाव लडेका उम्मेदवारलाई खादा ओढाएर सम्मान गरेको थियो । यो अवधिमा चुनाव लडेका १५ सय बढी रहेको र त्यसमध्येमा चार सय बढी कार्यक्रममा आएर सम्मान ग्रहण गरेका थिए ।
एमालेको स्थानीय विभाग प्रमुख मिनबहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज शान्ति ढकाल, केन्द्रीय सदस्यहरु दीपा शर्मा, पशुपतिदयाल मिश्र, मोहम्मद हारुन, जिल्ला अध्यक्ष निरक गुरुङलगायतको उपस्थिति थियो । नगर अध्यक्ष मोहित शाहले सञ्चालन गरेको कार्यक्रममा चेतबहादुर घर्तिले स्वागत गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !