छुवाछूत र भेदभाव अझै कायमै


नेपालगञ्ज – नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले समाजमा छुवाछुत र विभेद अहिले पनि कायमै रहेको बताएका छन् ।

राष्ट्रिय समता दिवसका अवसरमा नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य बाल्मिकीले संविधान र कानुनले बन्देज गरेपनि समाजमा विभेद कायमै रहेको भन्दै जातीय छुवाछुत र विभेदबाट नेपाली समाजले मुक्ति पाउन नसकेको बताए । उनले कांग्रेसले संविधानको मर्म अनुसार पार्टी विधानमा व्यवस्था भए बमोजिम आरक्षणको अभ्यास गरिरहेको उल्लेख गरे । बाल्मिकीले दलितको उत्थान र समताका लागि दलित आयोग बनेपनि सोचे अनुरुप काम हुन नसकेको टिप्पणी गरे ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले कांग्रेसका नेता कार्यकर्तालाई गाउँगाउँमा छुवाछुत र विभेद विरुद्ध सचेतना र जागरण फैलाउन आग्रह गरे । उनले कांग्रेसले छुवाछुत र विभेद विरुद्ध सशक्त आवाज मुखरित गर्न कुनै कन्जुस्याइँ गर्न नहुने बताए ।

गौडेलले छुवाछुत सामाजिक रोगको रुपमा रहेको बताए । छुवाछुत अन्त्यको घोषणा भइसके पनि व्यवहारिक कार्यान्वयन नभएको भन्दै उनले सचेतना र जागरणमा जोड दिए । उनले कांग्रेस बाँके छुवाछुत अन्त्यको अभियान अन्तरगत सहभोज गर्ने तयारीमा रहेको जानकारी समेत दिए ।

कार्यक्रममा कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, पूर्व सभापति एवम् पूर्व मन्त्री गजेन्द्र हमाल, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी, लुम्बिनी प्रदेशसभा सदस्य सुशीला बादी, महासमिति सदस्य लक्ष्मीनारायण शाह, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, नेपालगञ्ज-१२ का वडा सभापति रामु चिडिमार र दलित संघका सल्लाहकार एवम् कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य इश्वरी विकले बोलेका थिए । पार्टी उपसभापति कृष्णबहादुर कार्कीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको संचालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

वि.सं. २००९ जेठ १० गते जनकपुरमा सम्पन्न नेपाली कांग्रेसको पाँचौं महाधिवेशनबाट जातीय छुवाछूत र विभेद जस्ता सामाजिक अत्याचार तथा विसंगतिको अन्त्य गर्ने संकल्प गरेको दिनको स्मरणमा २०६७ असोज १५ गते काठमाडौमा सम्पन्न बाह्रौं महाधिवेशनले उक्त दिनलाई राष्ट्रिय समता दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !