शिक्षा शाखा अधिकृतलाई निलम्बनसहितकाे कारबाही सिफारिस


कोहलपुर – काेहलपुर नगरपालिकामा सञ्चालित आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा अनियमितता पुष्टि भएपछि कोहलपुर नगरपालिकाले शिक्षा शाखा प्रमुखसहित एक दर्जनलाई कारबाहीको सिफारिस गरेको छ । जसमा शिक्षा शाखाका मात्रै चार जना कर्मचारी परेका छन् । कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख रामबहादुर हमालदेखि अधिकृत रविलाल मिजार, प्राविधिक सहायक बल बहादुर नेपाली र कार्यालय सहयोगी भरत थारुलाई दोषी ठहर गरी कारबाहीको लागि सिफारिस गरिएको छ । मिजारलाई भने निलम्वन गर्ने सिफरिस गरिएको छ ।

चैत २ देखि ९ गतेसम्म चलेको कक्षा ८ को परीक्षाको नतिजा २३ गते सार्वजनिक भएको थियो । उक्त परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनमा अनियमितता भएको भन्दै उजुरी परेपछि नगरपालिकाले कार्यपालिका सदस्य वीरेन्द्रबहादुर शाहको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको थियो । उक्त प्रतिवेदनका आधारमा नतिजा प्रकाशनमा शिक्षा शाखा अधिकृत मिजार मुख्य दोषी ठहर गर्दै उनलाई निलम्वनसहित विभागीय कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । आज प्रतिवेदन सार्वजनिक गर्दै उनले शिक्षा शाखा प्रमुख रामबहादुर हमालको काज फिर्ता गर्ने र विभागीय कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । मातहतका कर्मचारीको लिखित रुपमा जिम्मेवारी बाँडफाँड नगरेको, परीक्षा सम्वन्धी गतिविधिलाई प्रभावकारी गराउन निरीक्षण, अनुगमन तथा निर्देशन नगरेका कारण अनियमितता मौलाएको पाइएकाले शाखा प्रमुखको हैसियतमा हमाल दोषी देखिएको आचार्यले प्रष्ट्याए । शाखा अधिकृत मिजारले आफ्नै निर्देशनमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सिमरीकी शिक्षण सिकाई सहजकर्ता रोमिना खत्रीलाई आफ्नै कार्यकक्षमा राखि गणित विषयको उत्तरपुस्तिकमा थप उत्तरपुस्तिका बनाई उक्त उत्तरपुस्तिकामा केही प्रश्नहरुको हल गरी बढी हुन आएको अंकलाई जोड्ने हिसावले मूल उत्तरपुस्तिकाको अग्रभागमा रहेको साविकको अंकलाइ केरमेट गरी नयाँ कायम गर्ने काममा सहयोग गरेको पाइएको छ ।  कम्प्युटरमा अंक इन्ट्री गर्ने अधिकार प्राप्त पदाधिकारी आफै भएका कारणले परीक्षा सम्वन्धी सम्पूर्ण अनियमितताको प्रमुख जिम्मेवार निकटस्थ अधिकृतको हैसियतले मिजार भएको प्रतिवेदनले औल्याएको पनि नगर प्रमुख आचार्यले बताए ।

त्यसैगरी नगर शिक्षा प्राविधिक सहायक कर्मचारी नेपाली र शाखाका कार्यालय सहयोगी थारु समेत दोषी देखिएकाले विभागीय कारबाहीको सिफारिस नगरपालिकाले गरेकोे छ । त्यसैगरी कोहलपुर सिटी एकेडेमीका सञ्चालक प्रशान्त रिजाल, आभास विक्रम क्षेत्री, उमेश केसी, हीरा केसी र डम्वर बहादुर खत्रीलाई पनि कारबाहीको सिफारिस गरिएको छ । प्रशान्तले शाखा प्रमुखसँग मिलेमत्तोमा नगर शिक्षा शाखाबाट आफ्नो विद्यालयका ४ जना विद्यार्थीको ६ थान उत्तरपुस्तिका लिएर उक्त सक्कल उत्तरपुस्तिका हटाई अर्को नक्कली उत्तरपुस्तिका तयार पारेको प्रतिवेदनमा उल्लेख छ । उक्त कार्यमा सहयोग गर्ने शिक्षण सहजकर्ता रोमिना खत्रीलाई पनि कसुरदार ठहर गरिएको छ ।

त्यसैगरी बाल विकास शिक्षिका राधिका मल्लले गणित विषयको उत्तर पुस्तिकामा रोमिना खत्रीसँगको मिलेमत्तोमा कम्प्युटरमा प्राप्तांक इन्ट्री गर्दा गलत नम्वर बताई इन्ट्री गराएको कसुर देखिएको छ । अर्की बाल विकास शिक्षक तारा चन्दले पनि मल्लकै भूमिका निर्वाह गरेको पाइएकाले दोषी ठहर गरिएको छ । त्यसैगरी ब्राइट लाइट एकेडेमी स्कुलका शिक्षक कुवेर ढकाल, वेष्टर्न ईङग्लिस मिडियम सेकेण्डरी स्कुलका शिक्षक रमेशकुमार थारुलाई पनि कारबाहीको सिफारिस गरिएको छ । पञ्चमुखि ईङग्लिस स्कुलका शिक्षक रविन बम भने सम्पर्कविहीन भएको पाइएको छ । छानबिनको क्रममा सोधपुछ लागि सम्पर्क गर्दा उनी सम्पर्कबिहीन भई नआएको पाइएपछि उनलाई पनि दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरिएको छ । पञ्चमुखि ईङग्लिस स्कुल कोहलपुरकी शिक्षिका आशा देवकोटाले प्राप्तंक कम भएका विद्यार्थीलाई बढी नम्वर दिएको भेटिएकाले दोषी ठहर गरिएको छ । निजामति कर्मचारीलाई निजामति ऐन २०४९ अनुसार कारबाहीको सिफारिस गरिएको छ भने अन्यलाई शिक्षा ऐन २०२८ अनुसार कारबाहीको लागि सिफरिस गरिएको छ । कोहलपुर नगरपालिकाको करारमा शिक्षण पेशामा संलग्न भएकाहरुको भने करार सम्झौता रद्द गरिने नगर प्रमुख आचार्यले बताए ।

कोहलपुर नगरपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत गरी ५२ विद्यालयका २ हजार ८ सय ६४ जना विद्यार्थीहरुले फारम भरेकोमा ५३ जना अनुउपस्थित भएको र २ हजार ८ सय ११ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । संस्थागत तर्फ ६९.८७ प्रतिशत उतिर्ण भएका थिए भने सामुदायिक तर्फ १४.८० प्रतिशत उर्तिण भएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !