बेपत्ताको दाहसंस्कार गरे, मृत्युदर्ता गराएनन्
नेपालगन्ज – बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नं. ८, सुतैयाकी जयन्ती शाहीले २०८० चैत्र २२ गते कुशको शव बनाएर बेपत्ता पारिएका श्रीमानको दाहसंस्कार गर्नुभयो । २०५८ चैत्र २४ गते जयन्तीका श्रीमान हुकुमबहादुर शाहीलाई राज्य पक्षले बेपत्ता बनाएका थिए । साइकलमा बजार गएका हुकुमबहादुर अहिलेसम्म फर्किएका छैनन् । २३ वर्षदेखि श्रीमानको बाटो हेरिरहनु भएकी जयन्तीले समाज र घरपरिवारको इच्छाअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गर्नुभयो ।
जयन्तीलाई कुशको शव बनाएर दाहसंस्कार गर्न अझै मन थिएन । जयन्ती भन्नुहुन्छ, ‘श्रीमान अझै जीवितै हुनुहुन्छ कि भन्ने मनमा आशा छ । टुप्लुक्क घर आइपुग्नु हुन्छ कि जस्तो लाग्छ । तर के गर्ने सरकार बोल्दैन, परिवार र समाजको दबाब त छदैछ । मन भारी बनाएर श्रीमानको अन्तिम संस्कार गरेको छु ।’
दाहसंस्कार नगर्दा घरमा कोही विरामी परेपनि त्यही कारणले हो कि भन्न थालियो । छोरी र अमाजु विरामी भइरहन्थे । यतिका समयसम्म नभेटिएपछि राज्य पक्षले हत्या गरिसकेको भन्नेहरु पनि छन् । हत्या गरिसकेको भए अन्तिम क्रिया नगर्दा मृतक स्वर्ग जादैनन् भनिन्छ । घरपरिवारको धार्मिक कार्यहरु रोकिए । यी सबै कारणले गर्दा आफूले इच्छा नलागेपनि हिन्दु परम्परा अनुसार बेपत्ता पारिएका श्रीमानको अन्तिम संस्कार गरेको जयन्तीको भनाई छ ।
दाहसंस्कार गरेपनि जयन्तीले ‘मृत्युदर्ता’ गराउनु भएको छैन । मृत्युदर्ता गराएर जादा राज्यले एकल महिला भत्ता दिन सक्छ । अहिले पनि वडाले केही रकम छुट्याएर बेपत्ता परिवारलाई सानोतिनो सहयोग गरिरहेको छ । जयन्ती थप्नुहुन्छ, ‘अहिलेसम्म बेपत्ता नै भनेर बसियो । अब मृत्युदर्ता गराएर जादा के हुने हो ? बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ । अब बन्ने आयोगले के बन्छ, त्यो कुरिरहेको छु ।’
नेपालगन्जकी चन्द्रकला उप्रेतीले २०८० पुस १३ गते बेपत्ता पारिएका श्रीमान भुपेन्द्रराज उप्रेतीको कुशको शव बनाएर दाहसंस्कार गर्नुभयो । २०६० मंसीर २३ गते भुपेन्द्रलाई राज्यपक्षले लगेर बेपत्ता बनाएको थियो । श्रीमती चन्द्रकलाले धर्मसंस्कार, पितृको रितिरिवाज पुरा गर्न काजकिरिया गरेको बताउनुभयो । कुशको शव बनाएर काजकिरिया गरेपनि बेपत्ता परिवारमा राज्य पक्षबाट बेपत्ता नै मान्दा र दाहसंस्कार गरिसक्दा कुनै भिन्नता आएको छैन । कानूनी बाधा अड्चन फुकेका छैनन् । चन्द्रकला भन्नुहुन्छ, ‘हामी त अहिले न एकल, न द्विकल भएका छौं ।’
चन्द्रकलाका अनुसार, कतिपय ठाउँमा बेपत्ता परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेपछि वडामा मृत्युदर्ता प्रमाणपत्र माग्न जादा दिएका छैनन् । सम्पति हस्तान्तरणमा जटिलता छदैछ । अधिवक्ता बसन्त गौतमले बेपत्ता पारिएका व्यक्तिका परिवारलाई एकल सरह मानेर एकल भत्ता दिनु भन्ने सर्वोच्च अदालतले आदेश गरेपनि त्यो कार्यान्वयन नभएको बताउनुभयो ।
सरकारले शुरुवाती चरणमा राहत दिंदा कतिपयले बेपत्तालाई पनि मृतक भनेर फाराम भरेका थिए । उनीहरु बेपत्ताका परिवार भएपनि मृतकको सूचीमा छन् । द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालकी कोषाध्यक्षसमेत रहेकी चन्द्रकलाले कतिपय ठाउँमा काजकिरिया गरेर मृत्युदर्ताका लागि वडामा जादा फर्काइदिने गरेको बताउनुभयो ।
बेपत्ताको दाहसंस्कार गरेर मृत्युदर्ता गराउदा राज्यले एकल महिला भत्ता दिने र त्यसले थोरै भएपनि राहत मिल्ने कतिपयको भनाई छ । चन्द्रकलाले दाहसंस्कार गरेपनि वडामा मृत्युदर्ता गराउन नगएको र केन्द्रले के निर्णय गर्छ, त्यो पर्खिरहेको बताउनुभयो । ‘दुई वटा आयोग बन्दैछन् । त्यसले के भन्छ, त्यो चासोका साथ हेरिरहेका छौं, चन्द्रकलाले थप्नुभयो, धर्मसंस्कार फुकाउन काजकिरिया गरेपनि यतिका वर्ष त बसियो भने केही समय अझै मृत्युदर्ता नगरेर बसौ न के हुन्छ ।’
बाँके र बर्दियामा ठूलो संख्यामा रहेका बेपत्ताका परिवारले दाहसंस्कार गरिसकेका छैनन् । बर्दियामा देशमै बढी दुई सय ५० जना बेपत्ता पारिएका छन् । बाँकेमा ६३ जना बेपत्ता पारिएका छन् । इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले राज्यले लास कि सास नदेखाइदिंदा बेपत्ता परिवारलाई सम्पति हस्तान्तरणलगायतमा ठूलो समस्या रहेको बताउनुभयो ।