नेपालगञ्ज बालविवाहमुक्त घोषणा

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकालाई सोमबार बालविवाहमुक्त घोषणा गरिएको छ ।
उपमहानगरपालिकामा आयोजित कार्यक्रममा घोषणा गर्न बाँकी रहेका १२ वडालाई बालविवाहमुक्त वडा घोषणा गर्दै समग्रमा उपमहानगरपालिकालाई नै बालविवाहमुक्त घोषणा गरिएको हो । सोमबार वडा नम्बर ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १९, २२ र २३ नम्बर वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो । नगरका २३ वडालाई नै बालविवाहमुक्त घोषणा गरिएपछि उपमहानगरपालिकालाई नै बालविवाहमुक्त पालिका घोषणा गरिएको हो ।
घोषणा सभामा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले फागुनभित्रै जिल्लालाई बालविवाहमुक्त जिल्ला घोषणा गर्न लागिएको जानकारी दिर्दै फागुनभित्रै बालविवाहमुक्त घोषणा गर्ने नेपालगञ्ज उपमहानगरपालिकालाई १० लाख पुरस्कार प्रदान गरिने बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले चुनौतीकाबीचमा पनि नगरलाई बालविवाहमुक्त घोषणा गर्न सकिएको बताउनुभयो । उहाँले घोषणा कार्यान्वयनका लागि सबै नगरबासीको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । घोषणामा साथ र सहयोग गर्ने सबैलाई उहाँले आभार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, नेपाली काँग्रेस बाँकेका सचिव सुधांशु कोइराला, नेकपा एमालेका नेपालगञ्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्य, उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शोभा शाह, वडा नम्बर १७ का वडा अध्यक्ष अजय पाठक लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष तथा सदस्य, कार्यपालिका सदस्य, सामाजिक संघ संस्थाका प्रतिनिधि, कर्मचारी, बाल क्लवका प्रतिनिधिलगायतको सहभागिता थियो । घोषणाअघि गरिएको सर्वेक्षणमा नेपालगञ्जमा ५.७७ प्रतिशत मात्रै बालविवाह भएको पाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !