तेस्रो जिल्ला सम्मेलन पार्टीका लागि कोशेढुंगा — सभापति गौडेल
नेपालगन्ज नेपाली काँग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेलले नेपालगन्जमा हुन गइरहेको पार्टीको जिल्ला सम्मेलन आमकार्यकर्ता र नेपाली जनताका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन् ।
कांग्रेसले तेस्रो जिल्ला सम्मेलन यही चैत ३० गते नेपालगन्जमा गर्दैछ । त्यसको उद्घाटन महामन्त्री विश्वप्रकाश शर्माले गर्ने कार्यक्रम रहेको छ । जिल्ला सभापति गौडेलले जिल्ला सम्मेलनमा मूलतः बाँके जिल्लामा नेपाली कांग्रेसको वस्तुगत सांगठानिक अवस्था, पार्टीसंग जिल्लावासीको अपेक्षा, विकास गतिविधिमा पार्टीले विगतमा खेलेको भूमिकालगायतका विषयवस्तुमाथि गहन छलफल हुने बताए ।
सभापति गौडेलले तेस्रो जिल्ला सम्मेलनमा पहिलो र दोस्रो जिल्ला सम्मेलनले निर्दिष्ट गरेका योजना तथा कार्यक्रमको प्रगति अवस्थाका बारेमा समिक्षात्मक छलफल हुने बताए । सम्मेलनमा देशको समसामयिक राजनीतिका साथै सामाजिक, सांस्कृतिक तथा आर्थिक घटनाक्रमका विषयमा समेत गहन छलफल हुनेछ’, सभापति गौडेलले भने ।
सम्मेलनमा बाँके कांग्रेसको सांगठानिक अवस्था, क्रियाशील सदस्यता वितरण, नविकरण, भातृ संस्थाहरुको उचित व्यवस्थापन तथा परिचालनलगायतका एजेण्डामा वृहत छलफल हुने गौडेले बताए । सम्मेलनमा पार्टीको सागठानिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने संस्था तथा व्यक्तिहरुलाई, जग्गादाता, पार्टीका उत्कृष्ट वडा सभापतिहरु, भातृ संस्थालाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याउने अध्यक्षहरु, प्रजातन्त्र सेनानीहरु, २०४६ सालदेखि अहिलेसम्म अनवरत पार्टी लागिपरेका कार्यकर्ताहरु, पार्टी केन्द्रीय कार्यसमितिको सय दिने अभियान र बाँके कांग्रेसको १२० दिने अभियानका उत्कृष्ट वडा सभापति र उत्कृष्ट जिल्ला प्रतिनिधिहरुलाई सम्मान प्रदान गरिनेछ ।
त्यस्तै, पार्टीमा महत्वपूर्ण योगदान पुर्याएका तर, दिवंगत भएकाहरुलाई मरणोपरान्त सम्मान समेत जिल्ला सम्मेलनमा गरिनेछ । मुलुकको लोकतान्त्रिक आन्त्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने र पेशागत कर्ममा इमान्दारितापूर्वक अनवरत लागिरहेका बाँकेका दुई जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको सभापति गौडेलले जानकारी दिए ।
सचिव सुधांशु कोइरालाले संचालन गरेको पत्रकार सम्मेलनमा जिल्ला उपसभापतिद्वय गोपाल अधिकारी, कृष्ण कार्की, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव रेनु सिंह ठाकुर, प्रबक्ता डिल्ली गिरी, महासमिति सदस्यहरु लक्ष्मीनारायण शाह, फुलाराम थारु, उमा थापामगर, जिल्ला सदस्य मनप्रसाद आचार्यलगायतको उपस्थिति रहेको थियो ।