नेपालगञ्जवासीले खादैनन् हात्तीपाइले रोगविरुद्धको औषधी

नेपालगञ्ज – हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन अभियान बाँकेमा ‘फेल’ हुँदै आएको छ । जिल्ला फेल भइरहदा अभियान लम्बिरहेको छ ।
सन् २०११ देखि बाँकेमा अभियान शुरु भएको थियो । अभियान सफल भएर ६ वर्षमै आम औषधी सेवन कार्यक्रम रोकिनु पर्नेमा बाँकेमा १२ औं चरणको अभियान २८ गतेदेखि शुरु हुँदैछ । अभियान असफल हुनुमा नेपालगञ्जवासी अलि बढी जिम्मेवार रहेको पाइएको छ ।
जिल्लामै नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाइले रोगविरुद्धको कभरेज कम रहेको छ । जिल्लाको सदरमुकाम र पढेलेखेका मानिसको बसोबास रहेको नेपालगञ्जमा गतवर्ष ४९ प्रतिशतमात्रै कभरेज थियो ।
नेपालगञ्जका केही वडाको कभरेज न्यून रहेको छ । वडाध्यक्षलाई लिएर घरघरमा जादा पनि कभरेज बढाउन नसकेको स्वास्थ्यकर्मीहरु बताउँछन् । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्यकर्मी जागेश्वर बस्नेतले नेपालगञ्जको वडा नं. ३ मा वडाध्यक्षलाई लिएर हिड्दा पनि धेरैले औषधी खान नमानेको बताउनुभयो । वडा नं. ३ मा अघिल्लो वर्ष १३ प्रतिशत र गतवर्ष २७ प्रतिशतले औषधी खाएका थिए । ‘स्वास्थ्यकर्मी जादा ढोका नै खोल्दैनन् । खोलिहाले पनि औषधी खाइदिन्नन्, स्वास्थ्यकर्मी बस्नेतले भन्नुभयो, नेपालगञ्जमा कभरेज बढाउन साह्रै गाह्रो छ ।’
स्वास्थ्य कार्यालय, बाँकेकी हात्तीपाइले रोगकी फोकलपर्सन दुर्गा गौतमले बाँकेमा सबैभन्दा धेरै बैजनाथ गाउँपालिका र सबैभन्दा कम कभरेज नेपालगञ्ज उपमहानगरपालिकामा रहेको जानकारी दिनुभयो । गौतमका अनुसार, गतवर्ष बैजनाथमा ८७, कोहलपुर नगरपालिकामा ८४, नरैनापुरमा ८३, खजुरामा ८२, जानकीमा ७७, राप्तीसोनारीमा ७१ र डुडुवा गाउँपालिकामा ७० प्रतिशत कभरेज रहेको थियो ।
यो कभरेज विश्वासिलो भने छैन । स्वास्थ्यकर्मीले औषधी दिएको आधारमा कभरेजको प्रतिशत निकालिएको छ । स्वास्थ्यकर्मीले दिएको औषधी व्यक्तिले खायो कि खाएन भन्ने यकिन छैन ।
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले यसपालीको अभियानमा औषधी पोको पारेर दिने होइन, स्वास्थ्यकर्मीले आफ्नै अगाडि राखेर औषधी खुवाउने बताउनुभयो । ‘अहिले जिल्लामा कभरेज त धेरै देखियो । तर, वास्तविक औषधी खाएका कम छन्, शाहले भन्नुभयो, अब औषधी निलिसकेछि मात्रै रजिष्टरमा नाम इन्ट्री गर्छौ ।’
बाँकेमा यसपाली तीन थरीको औषधी खुवाइदैछ । ११ औं चरणसम्म दुई थरीको औषधी खुवाइएको थियो । यसपाली उचाइका आधारमा औषधी खुवाउने तयारी भएको छ । जिल्लामा औषधी खानेले खाइरहने र नखानेले नखादा अभियान फेल भइरहेको छ । स्वास्थ्य कार्यालय, बाँकेले गरेको सर्वेक्षणमा लगातार पाँचौं पटकसम्म औषधी खाने ४४ प्रतिशत मात्रै रहेका छन् ।
हात्तीपाइले रोगविरुद्धको अभियान नेपालका ६३ जिल्लामा शुरु भएको थियो । ५३ जिल्ला सफल भएका छन् । दश जिल्ला असफल रहेका छन् । ती दश जिल्लामा फाल्गुन २८ गतेदेखि अभियान शुरु हुँदैछ ।
स्वास्थ्य कार्यालय, बाँकेले औषधीको कभरेज बढाउन विभिन्न व्यक्तित्वहरुसँग निरन्तर अन्तरक्रिया गरिरहेको छ । सोमबार पत्रकारसँग गरिएको छ ।
अभियान शुरु हुनुअघि बाँकेमा २०.८ प्रतिशत रोगी थिए । अहिले ५.५ प्रतिशत हात्तीपाइले रोगका संक्रमित रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !