खामेनीले गरे सेनाको बचाउ
एजेन्सी – इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले देशको सेनाको बचाउ गरेका छन् । इरानी सैनिकले जनवरीको सुरुमा आफूबाट गम्भीर मानवीय त्रुटी भएको र आफूले प्रहार गरेको मिसाइलका कारण युक्रेनी विमान खसेको स्वीकार गरेको थियो ।
इरानको राजधानी तेहरानबाट जनवरी ८ को बिहान चालकदलका सदस्यसहित १७६ रहेको युक्रेनी विमान किएभका लागि उडेको थियो । उडेको केहीबेरमै विमान दुर्घटनामा परेको थियो ।
विमानमा रहेका सबैको ज्यान गयो । सुरुका केही दिन इरानले आफ्ना कारण विमान दुर्घटनामा परेको भन्ने अस्वीकार गर्यो । तर त्यसपछि इरानी सेनाले स्वीकार गर्यो कि आफूले प्रहार गरेको मिसाइलका कारण विमान खसेको थियो ।
मानवीय त्रुटीका कारण दुर्घटना भएको भन्दै सेना तथा इरानी राष्ट्रपति हसन रुहानीले माफी मागे । त्यसपछि तेहरानसहितका शहरमा प्रदर्शन भयो ।
तर सर्वोच्च नेता खामेनीले शुक्रबार तेहरानमा प्रार्थनापछिको सम्बोधनमा आफू इरानी सेनाको पक्षमा रहेको बताएका हुन् । युक्रेनी विमान दुर्घटनामा कारक रहेको इरानको विशिष्ट सैन्य दस्ता द रेभोलुसनरी गार्डले इरानको सुरक्षा व्यवस्था कायम गर्नका लागि काम गरेको बताएका हुन् ।
खामेनीले सन् २०१२ यता पहिलोपटक सेनाको पक्षमा गरेको ¥यालीमा राष्ट्रिय एकताकालागि अपिल गरेका छन् ।
इरानका दुश्मनहरु (अमेरिका र उसका सहयोगीहरु) ले त्रुटी बस भएको विमान दुर्घटनालाई उच्च सैन्य अधिकारी कासिम सुलेमानीको हत्यालाई छायामा पार्नका लागि प्रयोग गरेको सर्वोच्च नेता खामेनीले बताएका छन् ।