सहकारी घोटालाका आरोपी धरौटीमा छुट्दै

नेपालगञ्ज – जनताको ४३ करोडबढी हिनामिना गरेको सहकारी वित्तीय संस्था विकास लिमिटेड, बैकिङ कार्यालय, नेपालगञ्जमा जोडिएका व्यक्तिहरु धमाधम धरौटीमा छुट्न थालेका छन् ।
तीन महिनाबढी अनुसन्धान गरेर फाइल बुझाइएपनि आरोपीहरु धरौटीमा छुटिरहेका छन् । प्रहरीले ६ जनालाई अदालतमा उपस्थित गराएकोमा कात्तिक १७ गते दुई जना धरौटीमा छुटेका थिए । पुस २ गते बुधबार फेरि एकजना धरौटीमा छुटेका छन् । पछिल्लो पटक अदालतको शरणमा पुगेका विजयकुमार पाठक २५ लाख धरौटीमा छुटेका हुन् ।
लामो समयदेखि फरार रहेका पाठक मंगलबार अदालतमा उपस्थित भएका थिए । जिल्ला न्यायाधीश धनेश्वर पौडेलको इजलासले पाठकलाई बुधबार २५ लाख धरौटीमा छोडेको हो । एक करोड हिनामिनाको आरोप लागेका पाठकलाई थुनेर अनुसन्धान गर्नुपर्ने भन्दै पीडितहरु अदालतमा दबाब दिन पुगेका थिए ।
निक्षेपकर्ता पीडित संघर्ष समितिका उपसंयोजक आशुतोष शुक्लाले ‘मिलोमतो’मा पाठकलाई छोडिएको आरोप लगाउनुभयो । शुक्लासहितको ठूलो संख्याका पीडितहरु पाठकलाई थुनेर अनुसन्धान प्रक्रिया अघि बढाउन दबाब दिइरहेका थिए । जाहेरीवालाका कानून व्यवसायीले त्यही जिकिर गरिरहेका थिए ।
२०६३ सालमा खजुरा शाखाको उपसहायक भएर विजयकुमार पाठक सहकारीमा छिरेका थिए । त्यतिबेला उनको तलव चार हजार दुई थियो । उनले पछि सहकारी छोड्दा नौ हजार तलव थियो । नौ हजार तलव खाने व्यक्तिले एक करोड हिनामिना गरेको बताइएको छ । सहकारीमा उनका दाइ अरुण पाठक हर्ताकर्ता हुँदा रकम हिनामिना गरिएको पीडितको आरोप छ ।
सहकारीमा ४३ करोडबढी हिनामिना भएको छ । ४१ जनाविरुद्ध मुद्दा चलाइएको छ । अहिलेसम्म अदालतमा उपस्थित गराइएका सात जनामध्ये चार जनालाई कारागार पठाइएको छ भने तीन जना धरौटीमा छुटेका छन् ।
सहकारीका सञ्चालक समितिका पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरु फरार रहेका छन् । सबैजसो भारततिर भागेको प्रहरीले बताएको छ ।


error: यो सुविधा उपलब्ध छैन !