अनुसन्धानको असई भन्ने केसी पक्राउ

नेपालगञ्ज – अनुसन्धानको असई भन्दै हिडेका दाङका फलबहादुर केसीलाई पक्राउ गरिएको छ ।
जमुनाहा नाकातिर देखिने गरेका केसीले बुधबार प्रहरीलाई नै अनुसन्धानको असई हो भन्न पुगेपछि पक्राउ परेका हुन् । लागु औषध नियन्त्रण ब्यूरोको टोलीलाई ‘अनुसन्धानको असई हुँ, सम्मान गर्नुस्’ भनेपछि शंका लागेर परिचय पत्र मागिएको थियो । केसीले आफू कपिलबस्तुमा कार्यरत रहेको बताएका थिए । नाकामा खटिएका अनुसन्धानका कर्मचारीले कपिलबस्तुको एसपी र प्रहरी निरीक्षकको नाम सोध्दा बताउन सकेका थिएनन् । केसीसँग रिटायर्ड असई देवबहादुर विकको परिचयपत्र रहेको थियो ।
केसीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज ल्याइएको छ । केसी केही दिनदेखि नाकातिर देखिने गरेको डिउटीमा रहने प्रहरीहरु बताउँछन् । ‘भारतबाट सामान लिएर आउनेहरुसँग कुरा गरिरहेको देखिन्थे, अनुसन्धानको असई भनेपछि होला त नि भन्ने थियो, डिउटीमा बसेका एक प्रहरीले भने, ‘अस्ती सामान लिएर आएका अपाङ्गतासँग कुरा गरिरहेका थिए ।’
केसीले नाकातिर बसेर अनुसन्धानको असईको नाममा पैसा उठाउने गरेको आकलन गरिएको छ । प्रहरीले केसीलाई नियन्त्रणमा लिएर त्यसबारेमा अनुसन्धान अघि बढाएको छ । चहलपहल बढी हुने नेपालगञ्ज नाकामा घुमुवा प्रहरी, अनुसन्धानको मान्छे भन्दै रकम असुल्नेहरु पक्राउ पर्ने गर्दछन् ।


error: यो सुविधा उपलब्ध छैन !