युपीका मुख्यमन्त्रीलाई नेपालगञ्ज ल्याउने कसरत
नेपालगञ्ज – भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपाल भ्रमण वर्ष २०२० मा बाँके ल्याउने प्रयास थालिएको छ । भ्रमण वर्षमा नेपालगञ्जदेखि स्वर्गद्वारीसम्म लैजान मुख्यमन्त्री योगीलाई निम्ता दिन एक टोली भारत जाने तयारी गरेको हो ।
‘युपीका मुख्यमन्त्री योगीलाई नेपालगञ्जको बागेश्वरीदेखि स्वर्गद्वारीसम्म लैजाने गरी बोलाउँछौं, जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले भन्नुभयो, मुख्यमन्त्री योगी आउनु हुन्छ भन्ने विश्वास छ ।’
मुख्यमन्त्री हुनुअघि योगी नेपालगञ्ज आइरहनु हुन्थ्यो । बागेश्वरी मन्दिरप्रति उहाँको विशेष लगाव छ । नेपालबाट युपीमा जाने जुनसुकै टोलीलाई मुख्यमन्त्री योगीले बागेश्वरी मन्दिरको चर्चा गर्ने गर्दछन् ।
नेपाल भ्रमण वर्ष २०२० मा भारतीय पर्यटक बढाउन विभिन्न योजनाहरु अघि सारिएको छ । खानेबस्ने विशेष प्याकेजदेखि नेपालगञ्ज–पोखरा उडानको प्रयासहरु भइरहेका छन् । बाँके राष्ट्रिय निकुञ्जमा सहजै देखिने बाघ, नेपालगञ्जको बागेश्वरी मन्दिर पर्यटकलाई लोभ्याउने ठाउँ हुने बताइएको छ । सरकारले २० लाख पर्यटक भित्र्याउने गरी भ्रमण वर्षको शुरुवात गर्दैगर्दा बाँकेमा पनि ठूलो संख्यामा भारतीय पर्यटकलाई ल्याउन योजनाहरु बनेका छन् ।