कृषिको भवन अलपत्र
नेपालगञ्ज – बाँकेको कृषि ज्ञान केन्द्रको नयाँ भवन अलपत्र परेको छ ।
जिल्ला कृषि विकास कार्यालय हुँदा २ करोड ८७ लाखमा ठेक्का गएको भवन एक चौथाई काममै अलपत्र परेको हो । कृषि विकास कार्यालयको खारेजीसँगै अन्यौलता हुँदा भवनको प्रगति अगाडि बढ्न सकेको छैन । गतवर्ष नै भवन बनिसक्नु पर्नेमा बजेटको अन्यौलताले काम ठप्पमात्रै भएको छैन, अलपत्र नै परेको छ ।
आर्थिक वर्ष २०७३÷०७४ मा ठेक्का गएको थियो । आव २०७५÷०७६ मा सम्पन्न गरिसक्नु पर्ने थियो । ठेकेदार कम्पनीलाई पनि बजेट कहाँ, कोसँग माग्ने अन्यौलता रहेको थियो । गाल्भा जेभी भट्टराईले ठेक्का लिएको छ ।
केन्द्रका प्रमुख सागर ढकालले पटक–पटक ताकेता गरेर नीगतगत अन्यौलता हटाएको बताउनुभयो । भवनकै विषयमा ढकाल दुई पटक काठमाडौं गइसकेका छन् । गएको कात्तिकमा संघले भवनको जिम्मा प्रदेश सरकारलाई अधिकार दिएको छ । अब प्रदेश सरकारले बजेटको व्यवस्था गर्नु पर्छ । तर, आर्थिक वर्षको बीचमा कहाँबाट कसरी हुन्छ चासोको विषय बनेको छ ।
अहिलेसम्म ठेकेदारले एक करोडजति लगेका छन् । ढकालका अनुसार, थप दुई करोड ३० लाखजति बजेट आवश्यक रहेको छ । प्रदेश सरकारसँग माग गरिएको छ । ठेकेदारले बजेट निकासा भए काम गर्छु भनिरहेको छ । सम्झौता सकिएको एक वर्ष हुनै लाग्दा तातिनु पर्ने अवस्था आएको छ । संरचनाहरु परिवर्तन हुँदा बजेट कहाँ माग्ने समस्या थियो । अब त्यो भने हटेको छ । अब प्रदेश सरकारले कहिले बजेट दिन्छ र भवन बन्छ भन्ने रहेको छ । ‘म कृषि ज्ञान केन्द्रमा आउने बित्तिकै भवनका लागि पत्र लेखेको थिए । काठमाडौं गएर योजना शाखामा रोकिएको फाइललाई अगाडि बढाए, संघबाट प्रदेशमा अधिकार सारियो । अब बजेट आउला, ढकालले भन्नुभयो, आर्थिक वर्षको बीच परेकाले कताको बजेट तान्ने भन्ने होला ।’
संघले हेर्दा शहरी विकास भवन डिभिजन कार्यालयले रेखदेख गथ्र्यो । अब प्रदेशमा अधिकार आएपछि संघीय कार्यालयतिर अनुगमन÷निरीक्षणको जिम्मा आएको छ । संरचना परिवर्तन भएर अन्यौलता हुँदा धेरै ठेकेदारहरुलाई भुक्तानीको समस्या भएको निर्माण व्यवसायी संघ बाँकेका अध्यक्ष टेकबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार, यस्तै समस्या भएकोमध्येको एउटा कृषि कार्यालयको भवन पनि हो ।