नेपालगन्जबाट करिब २५ किलोमिटर हुलाकी सडकको यात्रा गरेपछि नरैनापुरको कोल्हवा आउँछ। जुन राप्तीसोनारी गाउँपालिकाको सीमा काट्नेबित्तिकै हो। यहीँबाट उत्तरतर्फ सुरु हुन्छ, सन्तानेश्वर मन्दिरको यात्रा। ओकालो–ओरालो, जंगल–पहाडको ८ किलोमिटर यात्रा गरेपछि सन्तानेश्वर मन्दिरमा पुग्न सकिन्छ।

 

जंगल क्षेत्रमा आधाभन्दा बढीसम्म मोटरसाइकल, स्कुटीमा जान सकिन्छ। सानो गोरेटोलाई व्यवस्थित गरिँदै छ। मोटरसाइकलमा गए पनि दुई किलोमिटरजति हिँड्नै पर्छ, जहाँबाट अलि बढी उकालो पर्छ।

मन्दिरसँगै त्यहाँ रहेका पहाडी बाबा अर्थात योगानन्द गिरीलाई भेट्दा जो कोही उत्साहित र खुशी हुन्छ। लामो समय भारतको विभिन्न मन्दिरमा बसेर सन्तानेश्वरमा आइपुगेका पहाडी बाबाको जोश र जाँगर हेर्न र अनुशरण गर्न लायक छ।

बस्तीभन्दा धेरै माथि त्यो अनकन्टर पहाडमा कसरी सन्तानेश्वरको मन्दिर बन्यो? पहाडी बाबाको मुस्कुराहटसहितको जवाफ यस्तो थियो, ‘वर्षौअघि यहाँ यज्ञ गर्न बनाउनेजस्तो बेजी देखिएछ। त्यसपछि सबैले बेजिया पहाड भन्न थालेछन्। बेजी भएको ठाउँमा मटेहियाका दयाराम यादवले ठूलो झण्डा गाडेछन्। अनि सबैले झण्डहवा पहाड भनेछन्।

खर काट्न आउँदा यादवले नै बेजी देखेको र झण्डा गाडेको भन्ने गरिन्छ। यो बेलामा उनले मागेको मनोकामना पूरा भएको भनिन्छ। त्यसपछि सधैं यादवका परिवारले असार पूर्णिमामा आएर पूजापाठ गर्ने गर्दछन्। यहाँ मन्दिर बनेको धेरै भएको छैन। ११/१२ वर्षअघि मात्रै मन्दिर बनेको हो। मन्दिर नबन्दा पनि भक्तजन आउने गर्दथे। मन्दिर बनेर अझ बढी प्रचारप्रसार भएपछि भारतबाट समेत भक्तजन आउने गरेका छन्। साउन र फागुनमा धेरै भीड हुने गर्दछ।’

सन्तानेश्वर मन्दिर देशका विभिन्न ठाउँमा छन्। मुख्य पूजारी पहाडी बाबाले प्रणव क्षेत्र नाम राख्न चाहेको बताए। प्रणव क्षेत्रको सन्तानेश्वरभन्दा उपयुक्त हुने बाबाको बुझाइ छ। पूजारीहरु बस्ने दिव्यदर्शन आश्रम बनाइएको छ। खरले छाएका यो झुपडीमा पानीको ठूलो समस्या छ। पौने एक किलोमिटर तलबाट पानी लिएर जानु पर्छ।

गाउँपालिकाले मन्दिर पुग्ने बाटोलाई व्यवस्थित गर्ने प्रयास गरे पनि राम्रो हुन सकेको छैन। नेपालगन्ज आसपास र भारतबाट समेत भक्तजन आउने भएकाले बाटोको अलि राम्रो सुविधा हुने हो भने यहाँ धार्मिक पर्यटकको भीड लाग्ने देखिन्छ।