मिसेला त बाँके र बर्दिया जिल्ला कर्णालीमा ?

नेपालगन्ज – बर्दिया क्षेत्र नं. १ बाट निर्वाचित सांसद सञ्जय गौतमले प्रतिनिधि सभामा बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाँभ्ने कुरा उठाउनु भयो । उपस्थित सांसद र सभामुखको ध्यानाकर्षण गराउदै सांसद गौतमले बाँके र बर्दियाको सांस्कृतिक, सामाजिक, आर्थिक र भौगोलिक अवस्था कर्णालीमा मिसिदा उपयुक्त हुने जिकिर गर्नुभयो । उहाँले बाँके र बर्दियाको समृद्धिका लागि कर्णालीमा मिसाउनु पर्ने बताउनुभयो ।
ठूला पार्टी कांग्रेस र एमालेले संविधान संशोधनसमेत गर्ने गरी सहमति गरेर सरकार गठन गरेपछि सांसद गौतमले संसदमा बाँके र बर्दियालाई कर्णालीमा मिसाउने कुरा उठाउनुभयो ।
सांसद गौतमले किन बाँके र बर्दियालाई कर्णालीमा मिसाउने कुरा गर्नुभयो ? उहाँमा यो विचार अहिले आएर आएको हो त ? पक्कै होइन, बाँके र बर्दियाका आम मानिसको चाहनालाई गौतमले सदनमा उठाउनु भएको हो ।
विगतमा क्षेत्रगत वर्गीकरण रहदा बाँके र बर्दिया कर्णालीतिरै थियो । एकप्रकारले कर्णालीका जिल्ला किनमेलमा नेपालगन्जमा निर्भर थिए । नेपालगन्जको चमकधमक बढी थियो । मध्यपश्चिम क्षेत्र हुँदा नेपालगन्जको छुट्टै सान थियो । मध्यपश्चिममात्रै होइन, सुदूरपश्चिमको समेत शिक्षा, स्वास्थ्यको हब थियो । ठूल्ठूला सरकारी कार्यालय र गैरसरकारी संस्थाको मुकाम नेपालगन्ज थियो ।
प्रदेशको संरचना कायम हुँदा बाँके र बर्दियालाई लुम्बिनीतिर पारियो । शुरुवाती समयमा नेपालगन्जलाई राजधानी बनाउने बहस चलाइयो । ठूला नेता भएपनि खासै महत्व नदिइएपछि यो बहस त्यसै सेलाउदै गयो । धमाधम कार्यालय (सरकारी तथा गैरसरकारी) अन्यत्र जान थालेपछि केही समय यहाँका जनता तातित, छिट्टै सेलायो ।
नेपालगन्जका तत्कालिन मेयर डा. धवलशमशेर राणाले सबैलाई सँगै लिएर बाँके र बर्दियालाई कर्णालीमा गाँभ्ने कुरा उठाउनुभयो । आन्दोलनका चरणहरु शुरु भए । ठूला पार्टीका नेताहरुले साथ नदिंदा आन्दोलन तुहियो । जनता बाँके र बर्दियालाई कर्णालीमा मिसाउन चाहने ठूला नेताले नचाहने भइदियो । कांग्रेस र एमालेका अलि ठूला नेता रुपन्देही, दाङ, गुल्मीतिर भए । उताबाट जस्तो आदेश आउँछ त्यस्तै गर्न थाले । डा. राणाले थालेको आन्दोलन सकियो ।
वर्तमान गठबन्धनले संविधान संशोधनको कुरा उठाएकाले एकपटक फेरि बाँके र बर्दियाका जनता अहिलेको संरचना परिवर्तन गर्न उठ्ने देखिएको छ । सांसद गौतमले नै सदनमा संविधान संशोधनको कुरा आइरहदा बाँके र बर्दियालाई कर्णालीमा मिसाउने कुरा गरेकाले त्यसको प्रभाव विस्तारै जिल्लामा पर्ने देखिन्छ । खासमा यहाँका रैथाने त्यही चाहन्छन् । संघीय संरचना उत्तरदेखि दक्षिणसम्म फैलिएको हुनु पर्ने ठूला नेताहरुले बताउन थालेका छन् ।
कर्णाली प्रदेशका कतिपय कार्यालय अहिले पनि नेपालगन्जमा छन् । नेपालगन्ज नाका कर्णालीको पनि दक्षिणी द्वार मानिन्छ । पढाई, लेखाई, औषधी उपचार, रोजगारका लागि नेपालगन्ज झर्नुपर्छ । कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रको दक्षिण प्रवेशद्वार नेपालगन्ज नै हो । बाँके र बर्दियाको धेरै कुरा कर्णालीसँग मिल्ने भएकाले यी दुई जिल्लालाई त्यतै मिसाउदा जनताकोमात्रै होइन, राष्ट्र कै हित हुने देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !