कर्णाली विकास बैंक घाेटाला : तीन जना पुर्पक्षका लागि थुनामा, एक जनालाई धराैटी माग


नेपालगन्ज – नेपालगन्जमा प्रधान कार्यालय रहेकाे कर्णाली विकास बैंककाे रकम अपचलनमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएकाे छ भने एक जनालाई धराैटी माग गरेकाे छ ।
अदालतका मुख्य भई काम गर्ने न्यायाधीश चन्द्रबहादुर सारु र न्यायाधीश पुनम चन्द सिंहकाे इजलाशले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र र वित्त प्रमुख बेदप्रकाशसिंह ठकुरीलाई पुर्पक्षका लागि थुनामा पठाएकाे हाे । राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई दुई लाख धराैटीमा छाेड्न भनिएकाे अदालतका सूचना अधिकारी बलबहादुर विष्टले जानकारी दिए ।
प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सीआइबी)ले गरेकाे अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले बैंकका संस्थापक अध्यक्ष रायसँग २ अर्ब ६३ कराेड ३२ लाख १६ हजार ५ सय ९७, पूर्व अध्यक्ष मिश्रसँग ८२ कराेड ४६ लाख २९ हजार, वित्त प्रमुख ठकुरीसँग २६ कराेड ६३ लाख ९९ हजार असुल गर्ने गरि मुद्दा दायर गरेकाे थियाे । राष्ट्र बैंकका पूर्व कर्मचारी बस्नेतसँग १० लाख ६९ हजार २ सय ५० रुपैयाँ असुल्ने गरि मुद्दा दायर गरिएकाे थियाे । बैंककाे अवस्था खराव भइसक्दासमेत बस्नेतले राम्राे रहेकाे प्रतिवेदन दिएर बैंकबाट उक्त रकम घुस लिएकाे बताइएकाे छ । बैंकबाट बस्नेतकाे खातामा उक्त रकम गएकाे देखिएकाे थियाे ।
बैंककाे ३ अर्व २० कराेड ११ लाख ५४ हजार अपचलन भएकाे भन्दै १ सय ९ जनाविरुद्ध मुद्दा दायर गरिएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !