बाघको आक्रमणबाट महिलाको मृत्यु

नेपालगञ्ज – बाँकेमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ४, प्रसोनाकी ५२ वर्षीया लिला विष्टको बाघको आक्रमणबाट मृत्यु भएको हो । बिहीबार दिउँसो १२ बजेतिर स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने ठाउँमा घाँस काट्न गएका तीन जनामध्ये विष्टलाई बाघले आक्रमण गरेको थियो । विष्टलाई बाघले आक्रमण गरेपछि भागेर आएका दुई जनाले प्रहरीलाई खबर गरेका थिए । दुई बजेतिर प्रहरी घटनास्थलमा जादा बाघले विष्टलाई खाइरहेको थियो । होहल्ला गर्दा पनि बाघ नभागेपछि प्रहरीले दुई राउण्ड फायर गरेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो । ‘प्रहरी जादा बाघले मान्छेलाई खाइरहेको थियो । होहल्ला गर्दा भागेन । प्रहरीले बाघलाई नलाग्ने गरी दुई राउण्ड फायर गरेपछि बाघ अलिकति टाढा गयो, एसपी अधिकारीले भन्नुभयो, त्यहीबेलामा प्रहरीले शवलाई लिएर आयो ।’
बाँके निकुञ्जमा बाघको संख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको छ । बुधबार मात्रै राप्तीसोनारी गाउँपालिका वडा नं. ४, बैजापुरकी ३० वर्षीया दुर्गा थारुलाई बाघले आक्रमण गरेको थियो । गंगा बाघको आक्रमणबाट बच्न सफल भएकी थिइन् । उनको शरीरका विभिन्न ठाउँमा बाघको नंग्राले कोतरेको छ । केही दिनअघि राप्तीसोनारी गाउँपालिका वडा नं. ५ र ६ को जंगलमा मोटरसाइकलमा रहेका एक जना शिक्षकलाई बाघले झम्टेको थियो ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ४ को क्षेत्रमा केही दिनदेखि बाघको आक्रमण बढेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले भोलीदेखि नै त्यस क्षेत्रमा हात्तीसहितको टोली पठाएर बाघलाई लखेट्ने बताउनुभयो । उहाँले स्थानीयलाई पनि सचेत गराउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
बाँकेमा पछिल्लो तीन महिनामा बाघले तीन जनाको ज्यान लिएको छ । बाघको संख्या बढाउनकै लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा यतिबेला बाघको गणना गर्ने कार्य भइरेहेको छ । बाँके राष्ट्रिय निकुञ्ज आसपासका सामुदायिक वनमा बाघको चहलपहल बढि देखिएकाले बाँकेमा बाघको संख्या बढेको आकलन गरिएको छ । पछिल्लो गणना अनुसार बाँकेमा २१ वटा बाघ रहेका छन् । निकुञ्जसँग जोडिएको पूर्वपश्चिम राजमार्गमा बाघको डर भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !