मोहम्मद इश्तियाक अहमदले दिए ५ लाख दान
नेपालगन्ज – प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा सञ्चालन गरिएको वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इश्तियाक अहमद शाहले ५ लाख रुपैयाँ दान गरेका छन् । उनी धार्मिक सदभाव कायम गर्न भन्दै कथा प्रवचनको सातौं दिनको आरतीमा समेत सरिक भएका थिए ।
महोत्सवको कथा प्रवचनका बीचमा बोल्दै शाहले हाललाई ५ लाख दिएपनि वैकुण्ठधाम निर्माणका लागि नपुग रकममा आफ्नो सधैं साथ रहने प्रतिबद्धता ब्यक्त गरे । उनले पालिकाको तर्फबाट निर्णय गराएर थप बजेटको व्यवस्था गर्ने बताउदै हर हालतमा वैकुण्ठधाम बनाएरै छाड्ने अठोट गरे ।
नेपालगन्जमा कथा वाचन गरिरहेका वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेलले शाहले दान गरेलगत्तै सामाजिक सञ्जालमा ;धार्मिक सद्भावको नमूना ‘वैकुण्ठधाम आध्यात्मिक महोत्सव’ नेपालगन्जमा बाँकेका मुस्लिम समुदायका इश्तियाक अहमद शाहबाट रू. ५ लाख दानसहित आरतीमा सरिक धार्मिक सहिष्णुता र प्रेमको भाव प्रस्तुत गरेको भएको उल्लेख गरेका छन् ।
मूल समितिका संयोजक डा. सुरेशकुमार कानोडियाले धार्मिक सद्भावको शहरको रुपमा चिनिएको नेपालगञ्जले आज फेरी एउटा उदाहरण प्रस्तुत गरेको बताउँदै बैकुण्ठधाम निर्माणका लागि ५ लाख दान गर्ने शाहलाई धन्यवाद दिए । उनले धार्मिक द्वन्द्व निम्त्याउन खोज्नेहरुलाई शाहबाट शिक्षा लिन समेत आग्रह गरे ।
वाचन शिरोमणी पण्डित पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवमा आजपनि संगीतमय कलाकार टोलीबाट आलाङ्कारिक नाट्य प्रदर्शन हुने बताइएको छ । कलाकारहरुले हरेक दिन नेपाली, भोजपुरी, हिन्दी, अवधी, मैथिली भाषामा भजन प्रस्तुत गरिरहेका छन् ।
सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव आज सम्पन्न हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गर्दै आएको छ । कात्तिक २२ गतेदेखि शुरु भएको आध्यात्मिक महोत्सवमा अढाई करोड रकम संकलन भइसकेको छ । आज समापन भएसँगै हिसाव सार्वजनिक गर्ने बताइएको छ ।