भारतबाट आएका २७ जनामा कोरोना
नेपालगञ्ज – भारतबाट आएका २७ जनामा कोरोना देखिएको छ ।
नेपालगञ्ज नाकाको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, बिहीबार भारतबाट आएका २७ जनामा कोरोना देखिएको हो । यो संख्या नाकामा हेल्थ डेस्क राखिएको दश महिनाकै धेरै हो ।
भारतको विभिन्न शहरबाट आएका ५ सय २६ जनाको जाँच गर्दा २७ जनामा कोरोना देखिएको छ ।
हेल्थ डेस्कका ल्याब टेक्निसियन ज्ञवालीले भारतबाट आएका दाङ, बाँके, सल्यान, सुर्खेत, दैलेख, रुकुम, अछाम जिल्लाका मानिसमा कोरोना देखिएको जानकारी दिनुभयो । उनीहरु भारतको दिल्ली, चण्डीगढ, चेन्नाई, हैदरावाद, गोवाबाट आएका हुन् ।
भारतमा दैनिक ठूलो संख्यामा संक्रमित थपिदा त्यसको असर नेपालमा परेको छ । कोरोना फैलिएको शहरका नेपालीहरु धमाधम घर फर्किन थालेका छन् । कोरोना लागेका व्यक्तिमा खासै लक्षण देखिएको छैन । उनीहरुलाई दश दिन स्वास्थ्यकर्मीको निगरानीमा राख्न जरुरी रहेको छ । भारतमा कोरोना बढ्दा नेपालगञ्ज नाकाबाट घर फर्किने नेपालीको चाप बढ्दै गएको छ ।