खोलाले ‘सुकुम्बासी’ बनाएका लोनिया
नेपालगञ्ज – गत भदौ ११ गते दिउँसोसम्म सुन्दर लोनियाको घर आफ्नै जग्गामा थियो । राती परेको पानीले विहान डुडुवा दश बजेतिर खोलामा बाढी आयो । खोलाले कटान शुरु ग¥यो । तीन बज्दा नबज्दा लोनियाको फुसको घर ढल्यो ।
लोनियाले तेस्रो पटक सारेर त्यो घर बनाएका थिए । दश धुरजतिमा रहेको घर कटानमा परेर भत्किएपछि लोनिया पूर्णरुपमा विस्थापित मात्रै होइन, सुकुम्बासी नै बनेका छन् । सुन्दरको दुई कठ्ठा दश धुर जग्गामा अहिले डुडुवा खोला बगिरहेको छ ।
पहिला सुन्दरको घर राप्ती नदी नजिक थियो । २०७१ सालमा आएको ठूलो बाढी पछि राप्ती नदी धार परिवर्तन गरेर टाढा पुग्यो । डुडुवा खोला घर नजिकै आइपुग्यो । यो आठ वर्षमा उनले तीन ठाउँमा घर बनाए । अन्तिममा गत भदौमा आएको बाढीले सुन्दरको आफ्नो जग्गाबाट नै उठीबास लगायो ।
सुन्दर भन्नुहुन्छ, ‘डुडुवा खोला फैलिदै आउँछ । म घर सार्दै जान्छु । अहिले त खोलाले उठीबास नै लगायो ।’
डुडुवा गाउँपालिका कधैपुरुवाका लोनियाले अहिले गाउँछेउकै अधिया (बटैया) जग्गामा झुपडी बनाएका छन् । राप्ती नदी र पछिको डुडुवा खोलाको कटानलाई नियन्त्रण गर्न नसक्दा सुन्दरका परिवार गाउँबाट विस्थापित भएका छन् । अधिया जग्गामा अलि पर खोला छेउमै सुन्दरले झुपडी बनाएका छन् । एकान्त ठाउँमा रहेकाले राती परेपछि परिवारका सदस्यहरु बाहिर निस्किन डराउँछन् । पुसको यो चिसोमा सुन्दरका परिवारमा विचल्ली नै छ ।
सुन्दरकी बुहारी सुनिता लोनियाले खोलाछेउमै एकान्तमा घर हुँदा राती परेपछि डर लाग्ने गरेको बताउनुभयो । राज्यले खोलामा बलियो तटबन्ध नबनाइदिंदा सुन्दर विस्थापित हुन पुगेका हुन् । ‘यो अधिया जग्गामा घर बनाएका छौं । कहिले उठाइदिन्छन्, थाहा छैन, सुनिताले भन्नुभयो, हाम्रो जग्गा खोलामा परेको छ । के गर्नु जतिबेलासम्म हुन्छ । यही बस्छौं ।’
भदौ ११ गते कधैपुरुवामा जादा लोनिया खाद्यान्न, लत्ताकपडा, दाउरा ओसार्दै हुनुहुन्थ्यो । दिउँसो १ बजेतिर सुन्दरले घरको डिलमा बसेर रोटी खानु भयो । अहिले त्यहाँ डुडुवा बगिरहेको छ । स्थानीय सरकारले बासको तटबन्ध बनाएको छ । त्यो आँखामा छारो हाल्ने मात्रै छ । बाढी आएमा कटान रोक्न सक्दैन ।
राप्ती नदी र डुडुवा खोलाको चपेटामा पर्दै आएको छ, डुडुवा गाउँपालिकाका धेरै गाउँ । नदीले बेलामा बेलामा धार परिवर्तन गरिरहने भएकाले कहिले कुन गाउँ डुवानमा पर्छ त कहिले कुन गाउँ । भारतले राप्ती नदीमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सडकजस्तो बाँध निर्माण गरेपछि डुडुवा गाउँपालिकाका बासिन्दाले ३० औं वर्षदेखि डुवान, कटान र पटानको समस्या भोग्दै आएका छन् । राप्ती नदीको दुवैतिर भारतको सहयोगमा पक्की तटबन्ध बनाउने तयारी भइरहे पनि त्यो पूरा हुन सकेको छैन । सरकारले न त भारतलाई छिटो तटबन्ध बनाइदेउ भन्न सकेको छ न त आफैले छिटो बनाउन सकेको छ । जसको मार सुन्दर लोनियाजस्ताले व्यहोरिरहेका छन् ।