गौडेल समूहद्वारा प्यानल सार्वजनिक
नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेका सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेलले आफ्नो प्यानल घोषणा गरेका छन् ।
नेपाली कांग्रेस, लुम्बिनीका महामन्त्री राजेन्द्र आचार्यको विशेष उपस्थितिमा कांग्रेस बाँकेका सभापति किरण कोइरालाको उपस्थितिमा गौडेलको प्यानल घोषणा गरिएको हो । डा. शेखर कोइराला पक्षका गौडेलको प्यानलको घोषणा सचिवालय संयोजक एवं लुम्बिनी प्रदेश कमिटिका सदस्य टेकनारायण भूसालले घोषणा गर्नुभयो ।
गौडेल समूहमा उपसभापति गोपाल अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंक काफ्ले (आशिष), सहसचिवमा विश्वराज लम्साल र रेणुका ठाकुर रहेका छन् । सदस्यहरुको उम्मेदवारी केही दिन घोषणा गर्ने सचिवालय संयोजक भूसालले जानकारी दिनुभयो ।
कांग्रेस बाँकेको पुस २७ गते अधिवेशन हुँदैछ । प्यानल घोषणा गरेको गौडेल समूहले नेपालगञ्जमा सम्पर्क कार्यालय खोलेर चुनावी अभियान थालिसकेको छ ।
संस्थापन समूहले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन । संस्थापन समूहमा लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, बादसाह कुर्मी, निरञ्जनसिंह सिजापतिलगायत सभापतिको उम्मेदवार दाबेदार रहेका छन् ।