नेपालगञ्ज नाकामा नौ जनामा कोरोना पुष्टि

नेपालगञ्ज – नेपालगञ्ज नाकामा एकैदिन नौ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका नौ जना नै भारतबाट आएका व्यक्ति हुन् ।
नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, सोमबार भारतबाट आएका तीन सय ७ जनाको जाँच गर्दा नौ जनामा कोरोना पुष्टि भएको छ । नौ जनामा सात जना पुरुष र दुई जना महिला रहेका छन् । भारतको हरिद्वारबाट आएका कालिकोटका चार जना, दिल्लीबाट आएका दाङका तीन जना, महाराष्ट्र र दिल्लीबाट आएका बाँकेका दुई जनामा कोरोना पुष्टि भएको हो ।
भारतमा ओमिक्रोनको संक्रमित ह्वात्तै बढेपछि नेपालगञ्ज नाकामा फेरि सतर्कता अपनाएर जाँचलाई बढाइएको हो । हुन त नेपालगञ्ज नाकाबाट गत चैत्रदेखि नै कोरोना जाँच हुँदै आएको छ । बीचमा अलि खुकुलो पारिएपनि भारतमा संक्रमित बढ्दै गएपछि फेरि कडाई गरिएको छ । आइतबार दुई सय जनाको जाँच गर्दा एक जनामा कोरोना पुष्टि भएको थियो । त्यसअघि पुस ७ गते एक जनामा कोरोना पुष्टि भएको थियो । ल्याब टेक्निसियन ज्ञवालीले साउनयता नै एकैदिन यतिका धेरै मानिसमा कोरोना देखिएको बताउनुभयो ।
ओमिक्रोन हो कि होइन भन्ने बुझ्नका लागि आइतबार कोरोना देखिएका एकजना र सोमबार कोरोना पुष्टि भएका नौ जना गरी दश जनाको स्याम्पल काठमाडौं पठाउने तयारी भएको ल्याब टेक्निसियन ज्ञवालीले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !