नेपालगञ्जमा चिसो बढ्यो
नेपालगञ्ज – नेपालगञ्जमा चिसो बढेको छ ।
दुई दिनदेखि विहान र साँझ शीतलहरसँगै कुहिरो लागिरहेको छ । नेपालगञ्जको तापक्रम घट्दै गएको छ । जल तथा मौसम विज्ञान विभाग हावापानी कार्यालयका अनुसार, नेपालगञ्जमा न्यूनतम तापक्रम ८-९ डिग्रीमा झरेको छ । विहान र साँझ शीतलहरसँगै कुहिरो लागेपनि दिउँसो केहीबेर मधुरो घाम देखिने गरेको छ ।
चिसो बढेसँगै स्थानीय प्रशासनले ठाउँ ठाउँमा आगो बाल्ने व्यवस्था मिलाउने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले तत्काललाई ५ हजार किलो दाउरा दिन वन कार्यालयमा पत्र पठाइसकेको जानकारी दिनुभयो ।
चिसोले गर्दा दैनिक ज्यालादारी काम गरेर खानेलाई समस्या भएको छ । नेपालगञ्जमा चिसोमा अत्याधिक चिसो र गर्मीमा अत्याधिक गर्मी हुने ठाउँ मानिन्छ । शीतलहरसँगैको कुहिरोले गर्दा नेपालगञ्ज विमानस्थलमा विहानका उडान सर्ने गरेको छ ।