राप्तीसोनारी भयो, पूर्ण खोप पालिका

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकालाई ‘पूर्ण खोप’ पालिका घोषणा गरिएको छ ।
गाउँपालिका कार्यालयमा सोमबार एक समारोहको आयोजना गरेर गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा गर्नुभयो ।
पालिकामा १६ देखि २३ महिनाका ९ सय ३७ बच्चा छन् । तीमध्येमा ८ सय ५६ जनाले खोप लगाइरहेका थिए । ८१ जना बच्चा खोपबाट बन्चित थिए । पूर्ण खोपको अभियानमा ती छुटेका बच्चालाई समेटिएको स्वास्थ्य शाखाका प्रमुख विष्णुप्रसाद चुदालीले जानकारी दिनुभयो । अहिले पालिकामा खोपबाट बन्चित रहेका बालबालिका छैनन् ।
पूर्ण खोप समन्वय समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले बाँकेलाई फाल्गुनमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिने बताउनुभयो । उहाँले भौतिक पूर्वाधारमात्रै नभई शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिन पालिका प्रमुखलाई आग्रह गर्नुभयो । ‘राम्रो बाटोमात्रै नभएर हुँदैन, त्यो बाटोमा हिड्ने मान्छे पनि स्वस्थ हुनुपर्छ, जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले भन्नुभयो, पूर्ण खोप पालिका बनाउन महिला स्वयंसेविकाको महत्वपूर्ण रोल रहेकाले उनीहरुको सुविधामा ध्यान दिनुपर्छ ।’


गाउँपालिकाका अध्यक्ष थारुले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । उहाँले महिला स्वयंसेविकालाई अन्य पालिकामा भन्दा राम्रो सुविधा दिएको बताउनुभयो । अध्यक्ष थारुले पूर्ण खोपको अवस्थालाई निरन्तरता दिइने प्रतिबद्धता गर्नुभयो ।
उपाध्यक्ष धनीकुमारी खत्रीले गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले बाँकेका आठ पालिकामध्ये राप्तीसोनारीसहित ६ वटा पालिकामा पूर्ण खोप घोषणा भएको जानकारी दिनुभयो । अब नरैनापुर र बैजनाथ गाउँपालिका पूर्ण खोप हुन बाँकी रहेका छन् । शाहले पूर्ण खोप घोषणा भइसकेकाले पालिकाले वर्षेनी पूर्ण खोप सुनिश्चितता गर्नु पर्ने बताउनुभयो ।
स्वास्थ्य कार्यालय, बाँकेका खोप शाखा प्रमुख भेषराज शर्माले एक बच्चालाई पूर्ण खोप लगाउन तीस हजार तीन सय रुपैया खर्च हुने गरेको जानकारी दिनुभयो । राप्तीसोनारीले खोपमा चार करोड ६१ लाख लगानी गरिरहेको बताउनुभयो ।
डब्लुएचओका डा. पवन उपाध्यायले बाल मृत्युदर घटाउन खोपले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विकले स्वागत मन्तब्य राखेको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका एसपी, वडाध्यक्षहरुको उपस्थितिको रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !