खजुरामा ‘जनतासँग स्थानीय सरकार कार्यक्रम’
खजुरा – खजुरा गाउँपालिकामा ‘जनतासँग स्थानीय सरकार कार्यक्रम’ सञ्चालनमा आएको छ । जनताका समस्यासंँग हातेमालो गर्ने र तत्काल समाधान हुने समस्या हल गर्ने उद्देश्यले यो कार्यक्रम चालु आर्थिक बर्षदेखि सञ्चालनमा आएको हो ।
उक्त कार्यक्रम अन्तर्गत सोमबारदेखि जेष्ठ नागरिकलाई निःशुल्क आँखा शिविर सञ्चालनमा ल्याइएको छ । भिजन आँखा अस्पताल नेपालगञ्जको सहकार्यमा वडा नम्बर १ देखि ८ सम्म यो कार्यक्रम सम्पन्न गरिने छ ।
शिविरमा सामाजिक सुरक्षा भत्तामा सहभागी जेष्ठ नागरिकलाई निःशुल्क चेक जाँच, औषधि बितरण र करिब एक सय जनाको निःशुल्क अप्रेशन गरिने जनाइएको छ । वडा नं. १ मा सञ्चालित शिविरको शुभारम्भ कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जनताका प्रत्यक्ष गुणासो सुन्ने र समस्या समाधान गर्न कार्यक्रम लागु गरिएको जानकारी दिनुभयो । उहाँले समस्याको अवस्था हेरि तत्काल समाधान हुने खालका समस्यालाई हल गर्ने र समय लाग्ने खालका समस्याको आगामी नीति कार्यक्रम र बजेटमा लगिने बताउनुभयो ।
अध्यक्ष कक्षपतिले निर्वाचनमा जनतासंँग बाचा गरेका ६५ बुँदा पूरा भएको र महत्वपूर्ण गौरवका योजना सञ्चालनमा रहेको बताउनुभयो । उहाँले तीन वर्षमा ५० किलो मिटर कालोपत्रे गरिएको जनाउँदै ५ वर्ष पूरा हुँदा सय किलो मिटर कालोपत्र गरिने प्रतिबद्धता गर्नुभयो । स्वास्थ्य क्षेत्रमा खजुरामा १५ वेड १८ महिनामा पूरा गर्ने, दोस्रो ठूलो अस्पताल क्यान्सर अस्पताल पूर्ण सेवा दिने तयारीमा रहेको जानकारी दिनुभयो ।
अध्यक्ष कक्षपतिले ग्रीनसिटीमार्फत खजुराको व्यवस्थित विकासमा लाग्ने उद्देश्य रहेपनि कोरोनाले अवरोध भएको बताउँदै यो परियोजना सञ्चालनमा आउने विश्वास ब्यक्त गर्नुभयो । उहाँले असार मसान्तसम्म सुकुम्बासीको हातमा पूर्जा पर्ने गरी तयारी गरिएको बताउँदै कसैलाई एककप चिया खुवाउनु पनि नपर्ने उल्लेख गर्नुभयो ।
खजुरा गाउँपालिकाका सामाजिक बिकास संयोजक फत्तेकुमारी जैसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, भिजन आँखा अस्पतालका प्रबन्ध निर्देशक बाबुतरुण गौतम, वडा नं. १ का स्वास्थ्य प्रमुख दीपक ढकाल, स्थानीय मगनसिंह थापाले यस्ता कार्यक्रमले जनता लाभान्वित हुने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, वडा नं १ का वडा अध्यक्ष सुमन मल्ल, वडा नं. २ का अध्यक्ष देवीलाल खनाल, खजुरा गाउँपालिका लेखा अधिकृत प्रदिप सुनारलगायतको सहभागिता थियो ।