भारतबाट आउनेलाई नाकामा खोप लगाउन छोडियो
नेपालगञ्ज – नेपालगञ्ज नाकामा भारतबाट आउने नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउन छोडिएको छ ।
भारतबाट आउने व्यक्तिमा कोरोना देखिरहदा नेपाल सरकारले नाकामा खोप लगाउन भने छोडेको छ ।
स्वास्थ्य कार्यालय, बाँकेले पालिका केन्द्रित खोप अभियान चलाइरहदा भारतबाट आउने मानिसलाई नाकामा खोप लगाउन बेवास्ता गरिएको छ । भारत जाने र आउने मानिसलाई कोरोना देखा परिरहेको छ । मंगलबार मात्रै जाजरकोटका दुई र कालिकोटका एक जनालाई कोरोना संक्रमण देखिएको थियो ।
स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले पालिकाहरुमा छुटेका समुदायलाई खोप लगाउने काम भइरहेको जानकारी दिनुभयो । उहाँले पालिकाले भनेमा नाकामा खोप लगाउन सकिने बताउनुभयो ।
पहिलो र दोस्रो चरणको कोरोना महामारीमा ‘हटस्पट’ बनेको बाँकेमा खोप कभरेज भने बढेको छ । जिल्लामा पहिलो मात्रा लगाउने ९५ प्रतिशत पुगेको छ । दोस्रो मात्रा ८५ प्रतिशतले लगाएका छन् । तेस्रो मात्रा लगाउने २५ प्रतिशत छन् । चुनावका बेलामा रोकिएको कोरोना जाँच भने नाकामा शुरु गरिएको छ ।