कर्मचारीलाई राजनीति गर्न दिइदैन – मेयर विष्ट

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले उपमहानगरपालिकाभित्र कर्मचारीलाई राजनीति गर्न छुट नदिने बताउनुभएको छ ।

मेयर विष्टले राजनीति गर्ने चाहना भए सरकारी सेवाबाट अलग रहन कर्मचारीलाई सचेत गराउनुभयो । उहाँले मेयर र उपमेयर समान भएको भन्दै कार्यपालिका सदस्यहरुलाई बैठकमा दलीय प्रभावबाट मुक्त रहन आग्रह गर्नुभयो ।

नेपालगञ्ज बनाउन जनताले बिश्वास गरेको भन्दै उहाँले जनताले मतदान गरेर गरेको सहयोगलाई असल काम गरेमा मात्रै ऋण तिर्न सकिने बताउनुभयो ।

उपमेयर कमरुद्धिन राईले पार्टीगत प्रतिष्पर्धाबाट निर्वाचित भएको भएपनि अबका दिनमा सबैजना मिलेर नमूना र सुन्दर शहर बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यपालिकाले नगरको वृहत्तर हितमा निर्णय गर्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत जगतवहादुर बस्नेत लगायत कर्मचारी र नवनिर्वाचित पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रममा कार्यपालिका सदस्यहरु वसन्त कनौजिया, बिक्रम चिडिमार, विना थापा, शोभा खटिक, संगीता रेग्मी, अमृता कुमारी सिंह, कुमारी पुष्पा सिंह र मोहम्मद मुजम्मिल हुसेन हल्वाईलाई शपथ ग्रहण गराइएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !