नेपालगञ्ज नाकामा फेरि देखियो कोरोना
नेपालगञ्ज – नेपालगञ्ज नाकामा तीन जनामा कोरोना देखिएको छ ।
भारतबाट आएका जाजरकोट र कालिकोटका तीन जनामा कोरोना पुष्टि भएको हो । नाकामा रहेको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, हिमाञ्चलबाट जाजरकोटका दुई महिला र गडवालबाट आएका कालिकोटका एक जना युवामा कोरोना पुष्टि भएको छ ।
कोरोना संक्रमण देखिएका तीनै जनालाई पाँच दिनअघि ज्वरो आएको थियो । उनीहरुले कोरोनाविरुद्धको दुई मात्रा खोप लगाएका छन् ।
ल्याब टेक्निसियन ज्ञवालीले कोरोना देखिएका उनीहरुलाई सम्झाएर घरतर्फ पठाइदिएको जानकारी दिनुभयो ।
नेपालगञ्ज नाकामा अन्तिम पटक चैत्र २७ गते कोरोना देखिएको थियो । त्यसपछि मंगलबार कोरोना पुष्टि भएको छ । चुनावले गर्दा नाकामा बैशाख २२ गतेदेखि जेठ ८ गतेसम्म कोरोना जाँच रोकिएको थियो ।
मंगलबार ६३ जनाको जाँच गर्दा तीन जनामा कोरोना देखिएको थियो । २०७७ चैत्र १२ गतेदेखि कोरोना जाँच थालिएको नेपालगञ्ज नाकामा अहिलेसम्म एक हजार तीन सय ६ जनामा कोरोना देखिएको छ ।