महाउत समुदायको पहिलो जनप्रतिनिधि–जवन्ती

नेपालगञ्ज – बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६, हिरमिनियामा एउटा टोल छ, मगन्ताटोल । जहाँका धेरै मानिसले अहिले पनि मागेर गुजारा चलाउँछन् ।

एक सय १२ घर रहेको मगन्ताटोलमा चुनावको बेलामा छुट्टै रौनक हुने गर्दथ्यो । विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु घरघरमा आउँथे । मासु र मदिरा खुवाएर मत लैजान्थे ।

यो पटकको चुनावमा गाउँमा त्यस्तो भएन । गाउँका अगुवामध्येका केलाराम महाउतलगायतले सल्लाह गरे, ‘यसपटक मासु र मदिरामा बिक्ने होइन, हाम्रो गाउँबाट नै जनप्रतिनिधि बनाउनु पर्छ ।’ केलाराम नेकपा एमालेमा आवद्ध थिए । उनले पार्टीमा कुरा राखे । पार्टीले पनि महाउत समुदायबाट एक जना महिला सदस्यलाई उम्मेदवार बनायो ।

महाउत समुदायको पहिलो उम्मेदवार बनिन्, जवन्ती महाउत । वडा नं. ६ मा एमालेको राम्रो पकड रहेको छ । गएको चुनावमा पनि यहांबाट एमालेका मोहनराम मिश्रले चुनाव जितेका थिए । यसपटक पनि उनै मिश्र वडाध्यक्षका उम्मेदवार थिए । मिश्रको टीमले चुनाव जित्दा इतिहासमै पहिलो पटक महाउत समुदायबाट जवन्ती जनप्रतिनिधि भइन् । जवन्तीले ७ सय ९५ मत ल्याएर चुनाव जित्दा मगन्ताटोलमा खुशीयाली छायो ।

वडा सदस्य जितेकी जवन्तीलाई पार्टीले कार्यपालिका सदस्य बनाएको छ । कार्यपालिका सदस्य बनेकी जवन्तीका थुप्रै चुनौती छन् । जवन्ती भन्नुहुन्छ, ‘हाम्रो समुदायलाई सूचीकृत गर्नु पहिलो कामको रुपमा लिएको छु । बस्तीको विकास गर्नुछ ।’

वर्षौदेखि मगान्ताटोलमा बसेका महाउत सबैजसोको घर फुसका छन् । पहिला मगन्ता भनिने उनीहरुलाई अहिले महाउत भन्न थालिएको छ । लोपोन्मुख समुदाय महाउतलाई सूचीकृत गरिएको छैन । सूचीकृत गराएर राज्यबाट सेवा सुविधा दिलाउनु जवन्तीको प्राथमिकतामा परेको
छ ।

जनता आवासलगायतका कार्यक्रमहरु पारेर फुसका घरलाई विस्थापित गर्ने, बाटोघाटो बनाउने, मागेर गुजारा चलाउनेहरुलाई आयआर्जनमा लगाउनु, शिक्षा र स्वास्थ्यमा पहुँच पु¥याउनु समुदायका ज्वलन्त समस्या हुन् ।

पछिल्लो समयमा बालबालिका स्कूल जान थालेका छन् । मागेर गुजारा गर्नेको संख्या घट्दो छ । अधिया (बटैया) खेती गर्ने, मजदुरी गरेर खान थालेका छन् । केही विदेश गएका छन् । काम गरेर खानु पर्छ भन्ने चेतना बढेको छ । अघिल्लो पुस्ता जसरी देशका ठूल्ठूला शहरमा पुगेर मागेरै गुजारा गर्नेको संख्या कम हुँदै गएको छ । तथापि, माग्न भने छोडेका छैनन् ।

जनप्रतिनिधि भएकी जवन्ती गृहिणी हुन् । अन्य गाउँहरुमा बिहे, भोजहरु हुँदा भाडा माझ्न जाने गर्दथिन् । टोलमा बोल्न सक्नेमध्येकी एक हुन्, जवन्ती । जनप्रतिनिधि भइसकेपछि अब जवन्तीका अगाडि टोल र समुदायको विकासको थुप्रै चुनौती थपिएका छन् । जवन्ती मगान्ता सुधार समूहको कोषाध्यक्षसमेत हुन् । बस्ती र समुदायको विकासका लागि समूहमार्फत काम गरिरहेकी जवन्ती अब कार्यपालिका सदस्य भएर अधिकारसहित काम गर्ने अवस्थामा पुगेकी छन् । जवन्ती कार्यपालिका सदस्य भएकाले गाउँको विकासमा सुधार आउने मगन्ता समुदायका बासिन्दाले आशा गरेका छन् । मगन्तामा एसएलसी पास गर्ने एकमात्र युवा केलारामले मगन्ता समुदायबाट समेत जनप्रतिनिधि चयन भएकाले आफूहरुको माग स्थानीय सरकारले सुन्ने विश्वास गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !