आपसी मतभेद बिर्सेर चुनावमा जानु पर्छ – राठाैर

नेपालगन्ज – नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले मुलुक र लोकतन्त्र जटिल अवस्थामा पुगेकाले आपसी मतभेद बिर्सेर सिंगो नेपाली काँग्रेस फाल्गुण २१ गतेका लागि तोकिएको निर्वाचनमा जुट्नु पर्ने बताएका छन् ।
नेपाली काँग्रेस बाँकेद्धारा निर्मित सुशील कोइराला स्मृति भवनको स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईको १ सय २ औं जन्मजयन्तीका अवसरमा आज नेपालगन्जमा उद्घाटन गर्दै सहमहामन्त्री राठौरले काँग्रेसले ८० वर्ष संघर्ष गरेर सुनिश्चित गरेको लोकतन्त्र र जनताको अधिकार अप्ठेरोमा परेकाले त्यसलाई ट्रयाकमा ल्याउन निर्वाचन सबैभन्दा उत्तम विकल्प भएको बताए । उनले हाल जारी क्रियाशील सदस्यता वितरणसहित पार्टी महाधिवेशनकोलाई पनि फाल्गुण २१ मा देश र पार्टीलाई विजयी बनाउने अभियानका रुपमा अघि बढाउन आग्रह गरे ।
उनले काँग्रेसको नेतृत्वमा जनअधिकारको बहाली, शान्ति स्थापना तथा विकासका काम भए पनि भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको सेवाका लागि खोलिएका कार्यालयहरुलाई जनतामैत्री बनाउन नसकिएका कारण जनतामा असन्तुष्टि बढेको बताए । जनताको असन्तुष्टि र आकाँक्षा सम्वोधन गर्न काँग्रेसले नै पहलकदमी लिनु पर्ने सहमहामन्त्री राठौरको भनाई छ ।
आज नेपालमा मात्र नभै विश्वमै भ्रष्टाचार नियन्त्रण र सुशासनको मुद्दा पेचिलो बन्दै गएको अवस्थामा कसैले भन्दैमा विद्यमान परिस्थितिमै आजका भोलि सबै समस्या समाधान नहुने उनले बताए । राठाैरले दलहरुले कानूनको कार्यान्वयन र जीवनशैलीमा परिवर्तनलाई मुद्दाकै रुपमा अघि बढाएर मुलुकमा सुशासन दिनु पर्ने बताए ।
कार्यक्रममा उनले स्वर्गीय नेताहरु कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाले अपनाएको र देखाएको सादाजीवन : उच्च विचारको परिपालना नै मुलुकलाई सुशासन, सामाजिक न्याय र राष्ट्रहितको मार्ग पहिल्याउने उपयुक्त बाटो भएको बताए । यद्यपि, आजका काँग्रेस नेता कार्यकर्ताले त्यसलाई अनुशरण गर्न नसक्दा पार्टी र समाज दुवैलाई हानी भइरहेको उनले टिप्पणी गरे ।
पार्टी सभापति नारायण गाैडेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पूर्वमन्त्रीहरु दिपक गिरी, सञ्जय गाैतमलगायतकाे उपस्थिति थियाे । १ कराेड २० लाख खर्च गरेर काँग्रेसले लिफ्टसहितकाे तीन तले पार्टी कार्यालय बनाएकाे छ ।











